• ५ फागुन २०८२, मङ्गलबार

सर्जकलाई साहित्यकलाको सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । साहित्यकला डटकम प्रतिष्ठानले विभिन्न क्षेत्रका सर्जकलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । 

प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर, गोविन्दराज भट्टराई, प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले संयुक्त रूपमा सम्मानित एवं पुरस्कृत गर्नुभएको हो । सो अवसरमा ‘अब देउराली रुन्छ’ लगायतका विभिन्न साहित्य सिर्जना गर्नुभएका प्रा. मनबहादुर मुखियालाई एक लाख एक हजार रुपियाँ राशिसहित राष्ट्रिय कलाश्री सम्मान प्रदान गरिएको हो । साहित्यकार एसपी कोइरालाले साहित्यकार प्रा. मुखियालाई प्रदान गरिएको सम्मान रकम सौजन्यका रूपमा प्रदान गर्नुभएको हो । यसै गरी राष्ट्रिय कलाश्री पुरस्कार स्रष्टा एवं गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक श्रीओम श्रेष्ठ, ‘रोदन’ लाई एक लाख रुपियाँ र स–सिद्धि राष्ट्रिय कला युवा पुरस्कार निमेष निखिललाई ७५ हजार रुपियाँ प्रदान गरिएको थियो । 

सो कार्यक्रममा थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार कलाकार एससी सुमनलाई ६० हजार रुपियाँ, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार सर्जक राजेश खनाललाई ५० हजार रुपियाँ र पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार झुमा लिम्बूलाई प्रदान गरिएको हो । पूर्वकुलपति किरण मानन्धरले स्वरसम्राट नारायणगोपाल र आफू फरक विधामा काम गरे पनि राम्रो र नजिकका साथी भएर सँगसँगै काम गरेको स्मरण गर्दै साहित्य/सङ्गीत र कला विषयका काम उस्तै/उस्तै हुन्, दुवै विधामा लयसँगै काम अगाडि बढ्छन् भन्नुभयो । उहाँले सो अवसरमा सम्मानित र पुरस्कृत व्यक्तित्वलाई सक्रिय र सफल जीवनको शुभकामना व्यक्त गर्दै यस क्षेत्रका विकासका लागि प्रतिष्ठानले गरेका काम सराहनीय रहेको बताउनुभयो । 

सर्जक श्रेष्ठले गोरखापत्र दैनिकको ग्राहक बनेर सुरुदेखि अन्तिम पृष्ठसम्म पढ्ने गरेको स्मरण गर्दै पछि सोही पत्रिकामा काम गर्ने अवसरले पनि नेपाली भाषा साहित्यको सेवा गर्ने रहरलाई समेत कामसँग जोड्ने अवसर मिलेको बताउनुभयो । साहित्य सिर्जना रहरले लागेको साहित्यिक क्षेत्रले धेरै अवसर जुराएको त्यसमध्ये प्रतिष्ठानले पुरस्कृत गर्दा थप जिम्मेवारी दिएको अनुभव भएको बताउनुभयो ।  

समालोचक महेश पौडेलले सम्मानित/पुरस्कृत सर्जकबारे चर्चा गर्दै प्रतिष्ठानले उहाँहरूको योगदानको कदर गरेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले नेपाली साहित्य कला डटकमको स्थापना गरेर साहित्य, ललितकला क्षेत्रमा विविध गतिविधि सञ्चालन गर्दै आएको र सर्जकको हौसलाका लागि विभिन्न व्यक्तित्वको सहयोगमा पुरस्कार र सम्मानको व्यवस्थापन पनि गरिएको बताउनुभयो ।