• ५ फागुन २०८२, मङ्गलबार

एक्काइस करोडको सुन्तला बिक्री

blog

सुलीकोट समाचारदाता

सुलीकोट, फागुन ५ गते । गोरखा जिल्लामा यस वर्ष २१ करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय गोरखाका अनुसार एक हजार ९७ हेक्टर क्षेत्रफलमा यस वर्ष तीन हजार मेट्रिक टन उत्पादन भई २१ करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको हो । 

गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादन वृद्धि भएको छ । कार्यालयका सूचना अधिकारी पूजा रेग्मीले नौ सय हेक्टर क्षेत्रफलमा २५ सय मेट्रिक टनबाट बढेर एक हजार ९७ हेक्टर क्षेत्रफलमा तीन हजार मेट्रिक टन सुन्तला उत्पादन वृद्धि हुँदा गोरखाका स्थानीय किसानको आम्दानीमा ठुलो टेवा पुगेको बताउनुभयो । जिल्लाका भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका क्षेत्र सुन्तला उत्पादनका प्रमुख केन्द्र मानिन्छन् ।

यस वर्ष समयमै पानी पर्नाले अनुकूल मौसम, रोग नियन्त्रणमा सुधार तथा प्राविधिक सहयोग, बगैँचा व्यवस्थापन सुधारका कारण सुन्तला उत्पादन बढेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाका प्रमुख पूर्ण ढुङ्गानाको भनाइ छ । उत्पादित सुन्तला मुख्य रूपमा काठमाडौँ, पोखरा, चितवनलगायतका व्यापारी सुन्तला बारीमा आएर किसानको सुन्तला उठाउने गरेकाले पनि यो वर्ष गोरखाका किसानलाई बिक्रीमा कुनै समस्या नआएको सहिद लखन गाउँपालिका–२, मनकामनाका शिव रानाले बताउनुभयो । 

गोरखाको सुन्तला स्वादिलो र गुणस्तरीय भएकाले बजारमा उच्च माग हुने गरेको छ । किसानले बगैँचामा प्रतिकिलो ८० देखि १२० रुपियाँसम्म मूल्य पाएका गोरखा नगरपालिका–४, फिनामका सुन्तला किसान अर्जुनप्रताप राणाको भनाइ छ । 

सुन्तला खेतीले परम्परागत अन्नबालीभन्दा बढी आम्दानी दिने भएकाले पनि पछिल्ला वर्षमा धेरै किसान सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाले जनाएको छ । गण्डकी गाउँपालिका–२् याङ्दीका युवाले आधुनिक कृषि प्रविधि अपनाउँदै सिँचाइ, मल व्यवस्थापन र बगैँचा विस्तारमा लगानी गर्दै आएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ गोरखाले सुन्तला खेतीको प्रवर्धनका लागि तालिम, बिरुवा वितरण तथा प्राविधिक परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ ।