• ५ फागुन २०८२, मङ्गलबार

बिपी राजमार्गका पुल विस्तार गर्न अध्ययन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । सङ्घीय राजधानी काठमाडौँसँग मधेश तथा कोशी प्रदेशलाई कम समय र खर्चमा जोड्ने छोटो दुरीको बनेपा–सिन्धुली–बर्दीबास (बिपी) राजमार्गका पुलका चौडाइ विस्तार गर्नेबारे अध्ययन सुरु भएको छ । 

राजमार्गमा पर्ने खहरे खोलामा पुल नहुँदा तथा भएको पुल पनि एक (सिङ्गल) लेनको हुँदा प्रायः पुलमा सवारीसाधन जाम हुने, सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने, सवारीसाधन बाढीमा फस्ने र यात्रुले सास्ती खेप्नुपर्ने अवस्था छ ।

२०८१ असोजमा आएको बाढी र पहिरोले सखाप पारेको सो राजमार्ग अहिले अस्थायी ट्र्याकको भरमा चलेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमध्ये तीन खण्डको ठेक्का व्यवस्थापन भई पुनर्निर्माण सुरु भइसके पनि अहिलेसम्म पुल निर्माणका लागि ठेक्का प्रक्रियासमेत सुरु हुन सकेको छैन । सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी ई. दीपक याकामीले सो राजमार्गमा अहिले रहेका एक लेनका पुलको समानान्तर हुने गरी पुल निर्माण गर्न अध्ययन भइरहेको जानकारी दिनुभयो । अध्ययन प्रतिवेदन अनुसार नयाँ पुल निर्माण प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको बाढीपहिरोले पुलमा खासै असर पु¥याएको छैन । अहिले भएका पुलसँगै समानान्तर हुने गरी नयाँ पुल निर्माणका लागि अध्ययन भइरहेको हो ।”

उहाँले चालु आर्थिक वर्ष (२०८२/८३) भित्र अध्ययन सक्ने बताउनुभएको छ । उहाँका अनुसार दाप्चा पुल, कटुन्जे बेँसीको रोशी पुल, नार्के पुल, दाउन्ने पुल, भ्याकुरेखोला पुल र मामती पुलमा समानान्तर पुल निर्माण गर्नुपर्ने अवस्था छ । अहिले मामती पुल निर्माणाधीन छ । मामतीबाहेकका पुलको अध्ययन भइरहेको छ ।

विक्रम संवत् २०७२ मा जापानी सहयोग नियोग (जाइका) द्वारा सो राजमार्ग जापान सरकारको २६ बिलियन जापानीयेन र नेपाल सरकारको १.१ बिलियन (जापानीयेन) को लागतमा उक्त राजमार्ग निर्माण गरिएको थियो । आर्थिक वर्ष २०५३/५४ बाट उक्त राजमार्ग निर्माण सुरु गरिएको थियो भने २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो । 

धुलिखेल–सिन्धुली–बर्दीबाससम्म सो राजमार्गको कुल लम्बाइ १६० किलोमिटर छ । तीन दशकअघि सो राजमार्ग निर्माण गर्दा प्रतिकिलोमिटर ३५ करोड रुपियाँ लागत परेको थियो । अहिले सो राजमार्गको निर्माण खर्च प्रतिकिलोमिटर ५० करोड रुपियाँभन्दा बढी हुने अनुमान गरिएको छ ।