• ४ फागुन २०८२, सोमबार

एनकेएल दोस्रो सिजन जेठमा

blog

काठमाडौँ, फागुन ४ गते । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन २०८३ साल जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ । सोमबार आयोजित कार्यक्रममा एनकेएल आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टले दोस्रो संस्करणको मिति घोषणा गरेको हो ।

एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख अमितकुमार बेगानीले भन्नुभयो, ‘‘गत वर्ष पहिलो संस्करण कल्पनाभन्दा पनि राम्रो भयो । यसले नेपाली कबड्डीमा व्यवसायिकताको सुरुआत गरेको छ । अब दोस्रो सिजनलाई त्यो भन्दा राम्रो र उत्कृष्ट ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’’ 

दोस्रो सिजनको लागि ५ सय १२ नेपाली खेलाडी र १५ देशका १ सय बढी बिदेशी खेलाडीले नाम दर्ता गरेका छन्, जुन संख्या गत वर्षभन्दा करिब दोब्बर हो र यसले दोस्रो सिजन भव्य हुने संकेत गरेको छ ।

प्रमुख बेगानीले प्रो कबड्डी लिगका अनुभवी भारतीय खेलाडीहरूसँगै इरान, कोरिया, पोल्यान्डलगायतका उत्कृष्ट खेलाडी एनकेएल खेल्न नेपाल आउन तयार रहेको पनि बताउनुभयो । 

एस्ट्रोनिक्स म्योनजेमन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले एनकेएल १० करोड बजेटमा सञ्चालन हुने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा, महासचिव अरविन्द कुमार झा, र्यापर भियोमा पनि उपस्थिति रहेको थियो । 

पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । 

फाइनलमा काठमाडौँमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । एस्ट्रोनिक्स म्योनजेमन्ट कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ ।