हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ४ गते । मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका–५, साङ्ता गाउँको मतदान केन्द्रको अवलोकन गर्न प्रमुख जिल्ला अधिकारी अतिजा शर्मासहित सुरक्षा निकायका प्रमुखको टोली बाख्लो हिउँका कारण बाटोबाटै फर्किनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान स्थल सार्ने प्रस्ताव आएपछि स्थलगत अनुगमन टोली सडकमा हिउँ जमेका कारण गाउँ नपुगी फर्किएको हो ।
प्रजिअ शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक छिरिङ कृप्पा लामा, इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँण ठकुरी, शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक भेषराज गिरी, राष्ट्रिय अनुसन्धान प्रमुख विष्णुहरि पण्डितको टोली याकखर्क आसपासका क्षेत्रबाट अगाडि बढ्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रजिअ शर्माले भन्नुभयो,‘‘बाटोको हिउँ पग्लिएको छैन, हिउँ पन्छाएर सडक सुचारू गर्न समन्वय भइरहेको छ ।’’ सडक सञ्जालमा जमेको हिउँ पग्लिन समय लाग्ने भएकाले डोजरको प्रयोग गरी हिउँ हटाउन स्थानीय तहसँग समेत समन्वय गरिने प्रजिअ शर्माले बताउनुभयो ।
हिउँ पग्लिएर सहज भए मतदान केन्द्र यथावत राखिने प्रजिअ शर्माको भनाइ छ । अत्याधिक हिमपातका कारण समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको सिङ्गो साङ्ता गाउँ नै खाली भएको अवस्थामा गाउँ जोड्ने सडकका करिब-२ फिट हिउँ जमेको अवस्थामा तोकिएको समयमा मतदान केन्द्रसम्म स्थानीय पुग्न नसक्ने भएकाले वडाध्यक्ष सुरेन्द्र गुरूङले मतदान स्थललाई छिमेकी गाउँ फल्याकमा स्थानान्तर गर्न प्रस्ताव गर्नुभएको थियो ।
साङ्ता गाउँमा रहेको हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता छन् । गाउँमा पाँचजना गोठालाले पशुचौपायाको रेखदेख गरेका छन्।
यसैबीच सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलिय बैठकमा राजनीतिक दलले समेत आगामी फागुन १५ गतेसम्म मतदानस्थल आसपासको हिउँ पग्लिने र सडकमा थुप्रिएकोलाई पन्छाउनुपर्ने धारणा राखेका थिए ।
निर्वाचनमा सहभागि राजनीतिक दल एकमत भएमात्रै मतदान केन्द्र सार्न सकिने भएकाले हाल छलफलकै चरणमा रहेको प्रजिअ शर्माको भनाई छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेका छन् ।