वासिङ्टन, फागुन ४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सामाजिक सञ्जाल मार्फत ट्रम्पले सन् २०२६ फेब्रुअरी-१९, मा, शान्ति बोर्डका सदस्यमा सामेल हुने र जहाँ सदस्य राष्ट्रले मानवीय प्रयास र गाजाको पुनर्निर्माणलाई सहयोगको प्रतिज्ञा गरेको घोषणा गर्ने जनाउनु भएको छ । गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएकोसमेत उहाँले प्रष्ट पार्नु भएको छ ।
आसन्न बैठकले शान्ति बोर्डको पहिलो आधिकारिकतालाई प्रतिविम्वित गर्ने जनाइएको छ । भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो पहल गाजाको भविष्यको निर्णायक बिन्दु भएको उल्लेख गर्नु भएको छ । न्युयोर्क टाइम्सले यस अघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाका लागि एक अर्ब डलरभन्दा बढी रकम दिने वाचा गरेको जनाएको थियो ।
ह्वाइट हाउसका एक अधिकारीले आगामी दिनमा थप प्रतिज्ञाहरु अपेक्षा गरेको जनाउदै गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको २०-बुदे शान्ति योजनाले युद्ध विरामको लागि मार्ग प्रशस्त गर्ने र शान्ति बोर्डले कोष व्यवस्थापन गर्ने जनाउनु भएको छ । स्रोतका अनुसार वित्तीय प्रतिज्ञाको ठुलो हिस्सा गाजामा मानवीय परियोजनाका साथै आइएसएफका लागि समर्थनका लागि तोकिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जनवरी-२२ मा सुरु गरिएको शान्ति बोर्डमा अहिले सम्म २० भन्दा बढी देश सामेल भइसकेका छन् भने बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमको एक समारोहमा हस्ताक्षर गरिएको थियो । रासस/क्यूएनए