• ४ फागुन २०८२, सोमबार

आँधी खोलामा छाडिए १२ हजार भुरा माछा

blog

आँधी खोलामा भुरा माछा छाडिँदै । तस्बिर : हरिप्रसाद सुवेदी

हरिप्रसाद सुवेदी 

पुतलीबजार, फागुन ४ गते । स्याङ्जाको वालिङ नगरपालिका–९ अन्तर्गत पर्ने आँधी खोलामा १२ हजार भुरा माछा छाडिएको छ ।

नदीमा बढ्दो प्रदूषण, अवैध माछा मार्ने प्रवृत्ति तथा जलवायु परिवर्तनका कारण घट्दै गएका स्थानीय प्रजातिको संरक्षण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

छाता संस्था नेपालले सञ्चालन गरेको ‘आँधी खोला स्कुल अफ बेम्बो टेक्नोलोजी एन्ड रिभर रेस्ट्रोरेसन’ मार्फत स्थानीय जातका सहर, कत्ले, फगेटा, नागिन लगायतका भुरा माछा खोलामा छाडिएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।

आलेका अनुसार आँधी खोलामा पाइने गोच, रजबाम लगायत आधा दर्जनभन्दा बढी माछा प्रजाति पूर्णरूपमा लोप भइसकेका छन् । अन्य केही प्रजाति पनि लोपोन्मुख अवस्थामा पुगेका छन् ।

“आँधी खोला हाम्रो सभ्यता हो, हाम्रो पहिचान हो । यसको अस्तित्व नै सङ्कटमा पर्दा हामी सबैको भविष्य जोखिममा पर्छ,” आलेले भन्नुभयो, “नदी संरक्षण केवल माछाको संरक्षण मात्र होइन, यो हाम्रो संस्कृति, पेसा र पर्यावरणको संरक्षण हो ।”

उहाँका अनुसार आँधी खोलामा पर्यटकीय सम्भावना अत्यन्तै उच्च रहेको छ । अन्तर्राष्ट्रिय स्तरको माछा समात्ने प्रतियोगिता आयोजना गर्न सकिने, असारदेखि असोजसम्म पारिवारिक राफ्टिङ सञ्चालन गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ । 

दैनिक १२ सयभन्दा बढी भारतीय पर्यटक सिद्धार्थ राजमार्ग हुँदै यात्रा गर्ने गरेको भए पनि उनीहरूलाई आँधी खोलाको तटमा रोकेर पर्यटन गतिविधिमा जोड्न नसक्नु दु:खद पक्ष भएको उहाँले बताउनुभयो ।

भुरा माछा छाडेर मात्र नदी तथा जलचर संरक्षण सम्भव नहुने बताउँदै वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले स्थानीय सरकारले कानुनी आधार तयार गरिरहेको जानकारी दिनुभयो । 

“वालिङ नगरपालिकाले जलचर तथा जलीय जैविक विविधता ऐन २०८२ राजपत्रमा प्रकाशन गर्ने तयारीमा छ,” खाँणले भन्नुभयो, “हामी कानुन नै ल्याएर आँधी खोलालाई व्यवस्थित र सुरक्षित पर्यटकीय गन्तव्य बनाउने दिशामा अघि बढेका छौँ ।”

नगर प्रमुख खाँणका अनुसार वालिङका  माझी समुदायको  माछा मार्ने परम्परागत पेसालाई संरक्षण गर्दै त्यसलाई वालिङको पहिचानका रूपमा स्थापित गर्ने योजना अघि सारिएको छ ।

माझी समुदायलाई नै जालको साइज निर्धारण गरी अनुमति पत्र प्रदान गर्ने, निश्चित मापदण्डभित्र माछा मार्न दिने र सोही माछालाई पर्यटकको रोजाई अनुसार परिकारका रूपमा पस्किने व्यवस्था मिलाइने तयारी रहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

स्थानीय बासिन्दाका अनुसार विगतमा आँधीखोला क्षेत्रमा माछा प्रशस्त पाइन्थ्यो । माझी समुदायको मुख्य आय स्रोत नै माछा मार्ने पेसा थियो । तर पछिल्ला वर्षहरूमा करेन्ट, विषादी तथा अवैध उपकरण प्रयोग गरी माछा मार्ने प्रवृत्ति बढेपछि प्राकृतिक प्रजनन चक्रमा गम्भीर असर परेको छ । नदी किनारमा अनियन्त्रित उत्खनन र फोहोर व्यवस्थापनको कमीले पनि नदीको जैविक सन्तुलन बिग्रिएको सरोकारवालाहरू बताउँछन् ।

कार्यक्रमकै अवसरमा झण्डै एक सय विद्यार्थीलाई आँधी खोला सभ्यता, यसको धार्मिक तथा ऐतिहासिक महत्त्व र जलचर संरक्षणका विषयमा सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो । विद्यार्थीलाई नदीको पारिस्थितिक प्रणाली, जैविक विविधताको महत्त्व र प्रदूषण नियन्त्रणका उपायबारे जानकारी गराइएको आयोजकले जनाएको छ ।

आँधी खोलामा १२ हजार भुरा छाड्ने अभियानलाई संरक्षणतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ । यद्यपि, दीर्घकालीन संरक्षणका लागि समुदायको सक्रिय सहभागिता, कानुनी कार्यान्वयन र नियमित अनुगमन अपरिहार्य हुने विज्ञहरूको सुझाव छ ।

आँधी खोलालाई स्वच्छ, जीवन्त र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियानले लोपोन्मुख प्रजाति पुनःस्थापना, माझी समुदायको पेसा संरक्षण र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।