• ४ फागुन २०८२, सोमबार

प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोन बिच मङ्गलबार भेटवार्ता हुँदै

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन ।

नयाँदिल्ली, फागुन ४ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच मङ्गलबार मुम्बईमा भेटवार्ता भई भारत-फ्रान्स इनोभेसन वर्ष २०२६ को सयुक्त उद्घाटन गर्ने जनाइएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोन फेब्रुअरी १७-१९ सम्म भारतको आधिकारिक भ्रमणमा रहने तथा प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतले आयोजना गरेको “एआई इम्प्याक्ट” शिखर सम्मेलनमा भाग लिनेसमेत जनाइएको छ । फेब्रुअरी-१७ दिउँसो ३:१५ बजे उनीहरुले मुम्बईको लोक भवनमा द्विपक्षीय छलफल गर्ने आधिकारिक विज्ञप्तिमा उल्लेख छ । 

सोही क्रममा उनीहरूले भारत-फ्रान्स रणनीतिक साझेदारीमा भएको प्रगतिको समीक्षा गर्ने अपेक्षा गरी गएको छ । उनीहरूको छलफल रणनीतिक साझेदारीलाई सुदृढ पार्ने र नयाँ तथा उदीयमान क्षेत्रमा विविधीकरण गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनले क्षेत्रीय र विश्वव्यापी महत्त्वका सवालमा पनि विचार आदानप्रदान गर्ने जनाइएको छ ।

म्याक्रोनको भ्रमण रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, जलवायु, शिक्षा र जनता–जनता आदानप्रदानमा भारत र फ्रान्सबिचको साझेदारीको पृष्ठभूमिका बिच भएको उल्लेख गरिएको छ । विदेश मन्त्रालयका अनुसार मुम्बईमा उनीहरुले एमओयू आदान–प्रदान गर्ने छन् । होटल ताजमहल प्यालेसले भारत–फ्रान्स इनोभेसन फोरमको आयोजना गर्नेछ भने गेटवे अफ इन्डियामा भारत–फ्रान्स इनोभेसन र सांस्कृतिक स्मारकको उदघाटन हुने छ ।

इमानुएल म्याक्रोन र प्रथम महिला मेडम ब्रिगिट म्याक्रोनले फेब्रुअरी १६–१९ मा भारत भ्रमणको क्रममा मुम्बई र दिल्लीसमेत भ्रमण गर्ने जनाइएको छ । नव प्रवर्तन वर्ष २०२६ दुवै देशहरूमा वर्षभरि मनाइनेछ भने यसले प्रविधि, अनुसन्धान र जनता आदानप्रदानमा सहयोगलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भारत भ्रमणले कृतिम बौद्धिकता (एआई)का क्षेत्रमा सहयोग र उदीयमान प्रविधिमा ध्यान केन्द्रित गर्दै भारत–फ्रान्स रणनीतिक साझेदारीमा निरन्तरताको सङ्केत गरेको जनाइएको छ । नयाँदिल्ली एआईका क्षेत्रमा विश्वको सबै भन्दा महत्त्वपूर्ण वार्तामा केन्द्रित हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल एआई इम्प्याक्ट एक्सपोको उदघाटन गर्ने तयारी गरेको जनाइएको छ ।

प्रधानमन्त्री मोदीले शिखर सम्मेलन अघि, उहाँले भारत आएका प्रतिनिधिलाई स्वागत गर्ने र इन्डिया एआई इम्प्याक्ट एक्सपो २०२६ को उदघाटन गर्ने जनाइएको छ । फेब्रुअरी १६–२० सम्म, नयाँ दिल्लीमा आयोजित पहिलो अन्तर्राष्ट्रिय एआई शिखर सम्मेलन “इम्प्याक्ट समिट” विश्वव्यापी एआई भविष्यलाई आकार दिने बताइएको छ । रासस/एएनआई