• ४ फागुन २०८२, सोमबार

विराटनगरका सहकारी सुधारमा महानगरपालिकाको कडाइ

blog

खेमराज सापकोटा 

रानी, फागुन ४ गते । मोरङको विराटनगर महानगरपालिकाले अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका सहकारी संस्थामाथि नियमन कडाइ गरेको जनाएको छ । 

महानगरले दर्ता भएका सहकारीलाई कानुनी मापदण्डअनुसार सञ्चालन गराउन सक्रिय अनुगमन थालेको र नियमविपरीत कार्य गर्ने संस्थालाई कानुनी दायरामा ल्याइएको मेयर नागेश कोइरालाले बताउनुभएको हो । 

महानगरको सहकारी शाखाले आयोजना गरेको दुईदिने ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्घाटन गर्दै उहाँले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउने नीति स्पष्ट रहेको बताउनुभयो । “सहकारीहरू आफ्नै मूल मर्म र भावनाअनुसार चल्नुपर्छ, बचतकर्ताको विश्वास जोगाउनु नै पहिलो सर्त हो,” उहाँको भनाई छ । 

निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा सहकारी प्रभावकारी माध्यम बनेपनि संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक व्यवस्थापन अनिवार्य रहेको उहाँको जोड रहेको छ । 

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारी संस्थाको क्षमता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । 

सहकारी शाखाकी प्रमुख चाँदनी राईका अनुसार अनुगमन र सुदृढीकरणका लागि महानगरले नियमित समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुईदिने तालिममा महानगरमा दर्ता भएका विभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीको सहभागिता रहेको छ ।