• ४ फागुन २०८२, सोमबार

आइपुग्यो मतपत्र बाहेकका निर्वाचन सामग्री

blog

जिल्ला निर्वाचन कार्यालय सर्लाहीमा निर्वाचन सामग्री प्याकिङ गरिँदै । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, फागुन ४ गते । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मलङ्गवा सर्लाहीमा मतपत्र बाहेकका निर्वाचन सामग्री आइपुगेको छ ।   

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार मतपत्रबाहेक अन्य सम्पूर्ण निर्वाचन सामग्री प्राप्त भइसकेको हो । “आयोगबाट आउनुपर्ने र कार्यालय आफैले जिटुजी गरेर खरिद गरेको सम्पूर्ण निर्वाचन सामग्री प्राप्त भइसकेको अवस्था हो” जिल्ला निर्वाचन अधिकारी पौडेलले भन्नुभयो, “हामीकहाँ आएका सामग्री सुरक्षाकर्मीसमेतको उपस्थितिमा धमाधम प्याकिङ गर्ने कामसमेत गरिरहेका छौँ ।”

प्याकिङ गरिएका निर्वाचन सामग्री मतदानको केही दिनअघि मात्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइने जिल्ला निर्वाचन अधिकारी पौडेलले बताउनुभयो । सर्लाहीको चारवटै निर्वाचन क्षेत्रको मतपत्र भने फागुन १० गतेपछि मात्र आउने जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ । 

मतदानको दिन नजिकिँदै जाँदा सर्लाहीमा निर्वाचनको अन्य तयारीसमेत तीव्र पारिएको छ । यो पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीभरी तीन हजार ७६८ जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । 

यहाँका चार वटा निर्वाचन क्षेत्रमा ३१२ मतदान स्थलभित्र ६२८ मतदान केन्द्र तोकिएको छ । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायकस्तरका कर्मचारी र मतदान केन्द्रमै पुगेपछि मतदान अधिकृतले स्थानीयस्तरका दुई जना सहयोगी खटाउन सक्नेगरी व्यवस्थापन गर्न लागिएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत थपलियाले अब आफूहरू कर्मचारीलाई मतदान केन्द्र तोक्ने र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गर्ने तयारीमा जुटेको बताउनुभयो । निर्वाचनमा सुरक्षाको अनुभूति गराउन सुरक्षा निकायहरु प्नि सुरक्षा योजना तय गर्नेदेखि सुरक्षा गस्ती बढाउनेतर्फ केन्द्रित रहेको पाइन्छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष रामुराज कडरियाले निर्वाचनमा खटिनका लागि काठमाडौँसहित विभिन्न गणबाट थप मद्दतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आउनेक्रम जारी रहेको बताउनुभयो । सरकारी निकाय चुनावी वातावरण बनाउन र त्यसकै तयारीमा जुट्दै गर्दा जिल्लाका मतदाता र उम्मेदवारमा चुनावी रौनकता छाएको छ ।