विष्णुप्रसाद पोखरेल
दमक, फागुन ४ गते ।नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अप्ठेरो परिस्थितिमा गुज्रिएको र अस्थिरता कायम गराउन खोजिएकाले सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।
मुलुकको दिगो विकास र समृद्धिलाई रोकेर मूलुकलाई अस्थिर बनाउने प्रयत्नलाई नेकपा एमालेलेमात्र परास्त गर्न सक्ने जनाउँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नरहेको उल्लेख गर्दै पार्टीका नेताकार्यकर्तालाई सचेत र सक्रिय भएर यस विषयमा जनतालाई बुझाउन ओलीले आग्रह पनि गर्नुभएको छ ।
तपाईँहरू देख्दै आउनुभएको छ अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि ठीक छैन, उहाँले भन्नुभयो।ओलीले एमालेका विरुद्ध सबै एकजुट भएर लागेर घेराबन्दी गरेको यस्ता सबै घेराबन्दी तोड्न एमाले सक्षम छ भनेर पुष्टि गर्नुपर्ने समय आएको दाबी गर्नु भयो ।
सोमबार दमकमा भएको घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूलाई आफ्ना कुरा राख्दै ओलीले यस क्षेत्रमा ल्याइएका कतिपय विकासका योजनाहरू अहिलेको सरकारले बजेट कटौती गरेर अलपत्र पारेको जनाउनुभयो ।
यहाँका अधुरा विकास निर्माणदेखि लिएर यस क्षेत्रको र मुलुकलाई नै विकसित बनाउनका लागि आफूलाई मत दिन ओलीले आग्रह गर्नुभयो ।
विकास नै आवश्यक थिएन, विकास किन चाहियो ? भनेर कतिपयले भनेको सुनेको जनाउँदै मुलुक सम्वृद्ध बन्नका लागि सबै क्षेत्रको विकास अपरिहार्य भएको ओलीले बताउनुभयो ।
जनताका आवश्यकता र अपेक्षासँग जोडिएका विकासका मुद्दा गाउँगाउँसम्म लैजानुपर्नेमा ओलीले जोड दिनुभयो । उहाँले कार्यकर्तालाई एकताबद्ध भएर सङ्गठन सुदृढीकरण, विकासका उपलब्धि प्रचारप्रसार तथा भावी योजनाको स्पष्ट खाका प्रस्तुत गर्न आग्रह गर्नुभएको छ ।
“म नजिकबाट तपाईँको समस्या सुन्न आएको हुँ। म आफै तपाईँहरूसँग भेटघाट गर्ने र यहाँहरूको चाहना बुझ्नका लागि घरदैलोमा आएको छु, ”मतदाताहरूसँग उहाँले भन्नुभयो ।
तपाईंहरूका गुनासा, सुझाव र मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, ओलीले मतदातासँग स्पष्ट पार्नु भयो ।उहाँले भन्नुभयो, “मेरो सपना भनेको नै यहाँहरूको माग पूरा होस र गुनासोको उचित सम्बोधन गर्न सकियोस् भन्ने रहेको बताउनुभयो । अब आफू नियमित रूपमा भेटघाट र घरदैलोमा रहन्छु।”