• ६ चैत २०८२, शुक्रबार

पन्ध्र दिवसीय मिथिला माध्यमिकी परिक्रमा सुरु

blog

परिक्रमाका सहभागीहरू । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 
ढल्केबर, माघ ४ गते ।
पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा सोमबारदेखि धनुषाको कौचरीबाट विधिवत सुरु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले डोला उठाएर यसको सुरुवात गर्नुभयो ।

नेपाल र भारतका हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने छन् । सोमबार बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालु यात्राका लागि प्रस्थान गर्नुभएको छ ।

परिक्रमामा नेपाल र भारतका लाखौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालका ११ र भारतका चार गरी १५ पडावस्थल पार गर्दै तीर्थयात्रीले नाङ्गो खुट्टा करिब १३३ किलोमिटर दूरी तय गर्ने परम्परा रहेको छ ।

मिथिला विहारी मन्दिरका महन्थ नरेश दासले यहाँबाट झाँकी कीर्तनसहितको डोला जनकपुरधामको हनुमानगढी पुग्ने सो ठाउँमा जानकीमन्दिर र राममिन्दर लगायत अन्य मठमन्दिरबाट आएका भगवानका डोला तथा भक्तजन एकत्रित भएर कल्यानेश्वरका लागि सोही दिन प्रस्थान गरिने जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो दिन डोला कल्यानेश्वर पुग्ने छ । त्यसपछिका दिनमा मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर, औरही पुनः कल्याणेश्वर हुँदै फागुपूर्णिमाका दिन जनकपुरधाम फर्केर पञ्च कोशीय अन्तगृह परिक्रमा गरी समाप्त हुने छन् ।

अठारौँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिक यात्रा १५ दिनभित्र जनकपुर पुगि होली खेलेर फागुपूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवम् मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।