प्रवीणकुमार शर्मा
रौतहट, फागुन ४ गते । रौतहटका चार वटै निर्वाचन क्षेत्र मा मतदाता शिक्षा सुरु भएको छ । जिल्लामा रहेको १८ वटा स्थानीय तहका १५७ वडामा मतदाता शिक्षा सुरु भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । आगामी फागुन १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।
मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ अन्तर्गत रौतहट जिल्लाको प्रत्येक स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिलाई मतादाता शिक्षा अनुगमनकर्तामा नियुक्त गरी माघ २८ गते तालिम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । बालविकास सहजकर्ता तथा महिला स्वयमसेवकमध्ये एक जनालाई प्रत्येक वडामा मतदाता शिक्षा स्वमसेवकमा नियुक्ति दिइ एक दिने प्रशिक्षण दिइएको उहाँले जानकारी दिनुभयो ।
मतदाता शिक्षा स्वयमसेवकहरु फागुन ३ गतेदेखि आआफ्नो कार्यक्षेत्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । मतदाताहरुलाई निर्वाचनसम्बन्धी तथ्यपरक जानकारीका साथै नमूना मतपत्र देखाइ मतदान गर्ने तरिकाको बारेमा स्वयमसेवकहरुले जानकारी दिने र यसले बदर मतको सङ्ख्या घटाउने अपेक्षा निर्वाचन आयोगले राखेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले बताउनुभयो ।