सिराज खान
नेपालगन्ज, फागुन ४ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खोलेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा चार, निर्वाचन क्षेत्र नम्बर २ मा दुई र निर्वाचन क्षेत्र नम्बर ३ मा दुई गरी आठ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन खर्च परियोजनका लागि आठ जनाले मात्र बैंक खाता खोलेको जनाउँदै खाता नखोलेका उम्मेदवारहरुलाई खाता खोल्न आग्रह गरिएको बताउनुभयो ।
अधिकृत खत्रीले भन्नुभयो, “बैंकमा खाता नखोलेका उम्मेदवारलाई ताकेता गरिरहेका छौँ, सबैले खाता खोलेर मात्रै खर्च गर्नुपर्ने व्यवस्था हुँदा सोही बमोजिम गर्न लगाउनेछौं ।”
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत तथा अन्य खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि अलग बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था बाँकेमा कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गरिएको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
अनुगमन अधिृकृत खत्रीले उम्मेदवारको नाम, सम्बन्धित दल, निर्वाचन क्षेत्र र बैंक तथा शाखाको विवरण उल्लेख गरी निर्वाचन आयोगमा अनुगमन प्रतिवेदन पठाइएको जानकारी दिँदै पारदर्शिता कायम गर्न र निर्वाचन खर्चको सही लेखाजोखा राख्न यसले सघाउ पु¥याउने बताउनुभयो ।
उहाँले निर्वाचन खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सबै उम्मेदवारले तोकिएको नियमअनुसार छुट्टै खाता प्रयोग गर्नुपर्नेमा जोड दिँदै यसले निर्वाचन खर्च नियन्त्रण, कालोधन प्रयोग न्यूनीकरण तथा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पनि बताउनुभयो । तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा तीन सिटका लागि ५६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।