• ४ फागुन २०८२, सोमबार

बालबालिकालाई निर्वाचन गतिविधिमा संलग्न नगराउन आग्रह

blog

जिल्ला प्रशासन कार्यालय रौतहट । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, फागुन ४ गते ।
प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्नेक्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।

नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको हुँदा उक्त कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ र मर्यादित सम्पन्न गराउनु सबैको दायित्व रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा शारीरिक–मानसिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी भएको जनाएको छ ।

यसैक्रममा जिल्ला सुरक्षा समित रौतहटले जिल्लाका सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई चुनावी प्रचारप्रसार गर्नेक्रममा सभा, जुलुस, घरदैलोलगायतका विविध गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र निर्वाचन प्रक्रियालाई सभ्य, बालमैत्री एवम् कानुन सम्मत सम्पन्न गराउन विशेष आग्रह गरेको छ ।