• ४ फागुन २०८२, सोमबार

रुपन्देहीको चुनावी मैदान : नयाँ अनुहारबिच पेचिलो प्रतिस्पर्धा

blog

बुटवल समाचारदाता

बुटवल, फागुन ४ गते । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीको क्षेत्र नं. १ मा यस पटक सबै नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । सबै अनुहार नयाँ भएकाले कसले जित्छ भन्ने पूर्वआकलन गर्न यहाँका मतदातालाई कठिनाइ भएको छ । नयाँ अनुहारबिचको चुनावी सरगर्मी झन् रोचक बनेको छ । अघिल्ला निर्वाचनका सदाबहार उम्मेदवार मैदानमा नउत्रिएपछि स्थापित दल र नयाँ शक्तिबिच पेचिलो भिडन्त हुने सङ्केत देखिएको हो ।

यो निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित ३१ जना उम्मेदवार चुनावी दौडमा छन् । नेपाली कांग्रेसका हिराबहादुर खत्री, नेकपा (एमाले) का दधिराम न्यौपाने, नेकपाका घनश्याम यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका सुनील लम्साल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्वल बोहराको चुनावी अभियान आक्रामक देखिन थालेको छ । देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिका–७, ८, ९, १०, ११, १२, १५, १६, १७ तथा ओमसतिया गाउँपालिका–१, ३, ४, ५ र ६ समेटिएको यस क्षेत्रमा उत्तरदक्षिण सबै भूभागमा दलहरूको सङ्गठन विस्तार छ ।

कांग्रेस उम्मेदवार खत्री देवदहका पूर्वनगरप्रमुख हुनुहुन्छ । उहाँ २०७४ मा गठबन्धनबाट विजयी हुनुभएको थियो । एमाले उम्मेदवार न्यौपाने २०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भइसकेका नेता हुनुहुन्छ । नेकपा उम्मेदवार यादव २०६४ को संविधान सभा निर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभएको थियो । रास्वपाका लम्साल पार्टीका महामन्त्री हुनुहुन्छ भने राप्रपाका बोहोरा स्वर्गीय नेता दीपक बोहराका छोरा तथा पेसाले इन्जिनियर हुनुहुन्छ ।

अघिल्ला चुनावको मतपरिणामले पनि यस क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका छविलाल विश्वकर्माले २४ हजार ८८२ मत ल्याएर जित्दा कांग्रेस–माओवादी समर्थनप्राप्त स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१ हजार ३१८ मत पाउनुभएको थियो । रास्वपाले १४ हजार १४५ मत ल्याएको थियो । समानुपातिकतर्फ २०७९ मा कांग्रेस १९ हजार १२५ मतसहित अगाडि रहँदा रास्वपा १५ हजार आठ सय ल्याएर दोस्रो र एमाले १५ हजार ७२४ मत पाएर तेस्रो भएको थियो ।

यस पटक भने विश्वकर्मा, रज्जाक जस्ता पुराना उम्मेदवार मैदानमा हुनुहुन्न । त्यसैले मतदाताको झुकाव कता मोडिन्छ भन्ने आकलन गर्न कठिन छ । कांग्रेस, एमाले र नेकपाले चुनावी परिचालन समिति बनाएर केन्द्रीय नेतासहित अभियान चलाइरहेका छन् । कांग्रेसले तीन हजार ७०१ सदस्यीय प्रचार समिति बनाएको छ भने एमालेले एक हजार ५०१ र नेकपाले एक हजार ५५५ सदस्यीय मूल समिति गठन गरेका छन् । रास्वपाले सानो तर सक्रिय टोलीमार्फत फरक शैलीको अभियान अघि बढाएको छ भने राप्रपाले घरदैलो अभियान तीव्र पारेको छ ।

एक लाख ४६ हजार ८२४ मतदाता रहेको यस क्षेत्रमा ४५ मतदान स्थल र १५९ मतदान केन्द्र छन् । स्थापित दलको साङ्गठनिक पकड र नयाँ शक्तिको चुनौतीबिच रुपन्देही–१ को नतिजा यस पटक विशेष चासोका साथ हेरिएको छ ।

यो क्षेत्रमा २०४८, २०५१ र २०५६ सालमा कांग्रेसका दुर्योधन सिंह, २०६४ मा तत्कालीन माओवादी (हाल नेकपा) का घनश्याम यादव, २०७० मा कांग्रेसका अब्दुल रज्जाक तथा २०७४ सालमा तत्कालीन नेकपा (एमाले र माओवादीको एकीकृत पार्टी) बाट र २०७९ मा एमाले र राप्रपाको गठबन्धनबाट एमालेका छविलाल विश्वकर्माले निर्वाचन जित्नुभएको थियो । अहिले रास्वपा र राप्रपाका युवा उम्मेदवार पनि मैदानमा उत्रिएपछि कसको पल्ला भारी हुन्छ भन्ने यकिन गर्न यहाँका मतदाता तथा मत विश्लेषणकर्तालाई अप्ठ्यारो भएको छ ।