• ४ फागुन २०८२, सोमबार

कोराबाटै चुनावी प्रतिबद्धता

blog

एमालेका केन्द्रीय सदस्य लालबाबु पण्डित प्रतिबद्धतापत्र सार्वजनिक गर्नुहुँदै । तस्बिर : नवराज कट्टेल/रङ्गेली

रङ्गेली समाचारदाता

विराटनगर, फागुन ४ गते । फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।  निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा गत बिहीबार बुवाको निधन भएपछि ढकाल अहिले कोरामा रहनुभएको छ । आइतबार कोराबाट ढकालले आफ्नो क्षेत्रका मतादातासमक्ष प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मोरङ–६ का लागि एमालेले निर्वाचन कमान्डरको रूपमा केन्द्रीय सदस्य लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय सदस्य पण्डितले सो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । 

ढकालको प्रतिबद्धतामा क्षेत्रगत पूर्वाधार योजनालाई प्राथमिकतामा राखिएको छ । जसमध्ये विराटनगरको डुबान समस्याका लागि योजना निर्माण, चक्रपथ निर्माण गतिरोध अन्त्य, क्षेत्रभित्र पर्ने गछिया, बुढीखोला, केसलिया र सिङ्घिया नदी नियन्त्रणमा विशेष योजना, रूग्ण उद्योग सञ्चालनमा ल्याउने नीतिगत पहल, मजदुर पक्षीय कार्यक्रम, साना तथा घरेलु उद्योगको प्रवर्धन गर्ने उल्लेख छ । 

यसै गरी विद्यालयमा स्मार्ट क्लास रुम, जेनजी पुस्तालाई प्रविधिबाटै उत्पादन, स्वरोजगारमूलक शिक्षा, गुरुकुल र मदरसा शिक्षालाई विश्वविद्यालयसँग जोड्न नीतिगत पहल, थारू ग्राम र संस्कृतिको जगेर्ना, मल खाद तथा बिउ र सिँचाइका कामलाई प्राथमिकता दिने उल्लेख छ । 

यसै गरी सुन्दरहरैँचाको छ पोखरी, बुढीगङ्गाको सिङ्घीया खोला र बौराहाको मधुपार्कको संवर्धन अनि हसिना सिमसारलाई पर्यटकीय गन्तव्य बनाउने उल्लेख छ । यसै गरी कोशी नहरलाई हरियाली सडक सञ्जालमा विकास गर्ने, नवप्रवर्तन, सामाजिक सुरक्षाका विशेष कार्यक्रमलाई बढावा दिने उल्लेख छ । 

नेता ढकालले आफू निर्वाचनका बेला पितृवियोगमा रहे पनि मन र वचन मतदातासँगै रहेको बताउनुभएको छ । उहाँले मतदातासँग आफूले प्रत्यक्ष भेटघाट गर्न नपाएको बताउँदै निर्वाचनको समयमा मात्रै नभई अन्य बेला पनि आफ्नो सम्बन्ध सधैँ सुमधुर रहेको बताउनुभयो । “म आफैँ आउन नसके पनि घरदैलोमा आउनुभएका साथीहरूमार्फत प्राप्त भएका सुझाव ग्रहण गर्ने छु,” ढकालले मतदातालाई आश्वस्त पार्दै भन्नुभयो, “आजसम्म मैले सक्ने समस्याको समाधान गरिरहेकै थिएँ, भोलि जुनसुकै स्थितिको परिणाम आए पनि गर्ने नै छु ।”

उहाँका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको गत बिहीबार निधन भएपछि विराटनगर–६, सम्झनाचोकस्थित मूल घरमा धार्मिक परम्परा अनुसार कोरामा बसेर पितृको तरणतारणमा सरिक हुनुभएको छ । मोरङ–६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला, नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुबिना आचार्यसँग नेता ढकालको प्रतिस्पर्धा रहेको छ ।