• २ चैत २०८२, सोमबार

इनिशा हत्या प्रकरणको स्वतन्त्र छानबिन गर्न माग

blog

सुर्खेत समाचारदाता

सुर्खेत, चैत २ गते । सुर्खेतकी इनिशा विकको घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानिबनको माग गर्दै कर्णाली प्रदेशका संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत समितिले पाँचबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा १६ वर्षीय बालिका इनिशाको फागुन २३ गते अनमोल गौलीलगायतका चार किशोरले जङ्गलमा बलात्कारपछि हत्या गरी छाडेको भन्दै उक्त घटनाको स्वतन्त्र, निष्पक्ष छानबिन गर्नुपर्ने जनाइएको छ । 

यस्तै जघन्य अपराधको घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने र भविष्यमा कसैले पनि यस्तो अमानवीय जघन्य अपराध गर्ने दुस्साहस नगरोस्, महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने, महिला तथा बालबालिकाको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि दबाब, प्रभाव र पहुँचको आडमा उन्मुक्ति नदिई कानुनी कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र न्यायलाई कमजोर पर्ने गतिविधि कुनै पनि पक्षबाट नगर्न भनिएको छ । 

ज्ञापनपत्रमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति कर्णालीका संयोजक वसन्तकुमार विश्वकर्मा, नेपाल दलित सङ्घका अध्यक्ष भीम शाही (परियार), मुक्ति समाज नेपालका प्रदेश अध्यक्ष पर्वसिंह विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका प्रदेश उपाध्यक्ष हिरा सुनार, श्रमिक समुदाय मोर्चा नेपाल सुर्खेतका रमेशविक्रम दर्जीलगायतले संयुक्त हस्ताक्षर गर्नुभएको छ । समितिका संयोजक वसन्त सुनारले बालिका इनिशाको न्यायका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । 

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भरत खनालले ज्ञापनपत्रलाई तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाउने बचन दिनुभयो ।