• ६ चैत २०८२, शुक्रबार

छत्रेश्वरी मेलामा बिहानदेखि दर्शनार्थीको भिड

blog

लाइनमा लागेर मन्दिरमा पूजाअर्चना गर्दै दर्शनार्थीहरु । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, फागुन ३ गते। स्कन्दपुराणको दशौं अध्यायमा वर्णन भएको सल्यानस्थित क्षत्रेश्वरी सतिपिठमा आज विहानदेखि दर्शनार्थीहरुको भिड लागेको छ । हरेक बर्षझैं महाशिवरात्री पर्वको अवसरमा यहाँ मेला लागेको छ। 

छत्रेश्वरी गाउँपालिका –६ स्थित छत्रेश्वरी मन्दिरसँगै छायाँ ढुंगा, पिशाचेश्वर मन्दिर, शंखपार्क, लान्तीस्थित १०८ शिव लिङ्ग, राप्ति राजमार्गमा रहेको मरठाचौर शिव मूर्ति लगायतका ठाउँमा पूजा अर्चना भइरहेको छ । सल्यानको विभिन्न स्थान तथा दाङ, रोल्पा, बाँके, बर्दिया, रुकुम, सुर्खेत लगायतका जिल्लाबाट समेत मानिसहरु मन्दिरको दर्शनका लागि आएका छन्।

धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्यस्थल बनेको छत्रेश्वरी मन्दिर सदरमुकाम सल्यान खलङ्गादेखि पूर्वतिर २३ किलोमिटर र राप्ती राजमार्गको नजिकै शङ्खमूलबाट ४ किलोमिटरको दूरीमाथि थुम्कोमा अवस्थित छ । यहाँ पुग्न फराकिलो सडकको सुविधा छ भने प्राकृतिक दृश्यावलोकन गर्दै मन्दिरसम्म आउजाउ गर्न विभिन्न सुविधासहित पर्यटकीय पदमार्ग निर्माण गरिएको छ। 

छत्रेश्वरीदेवीको मन्दिर नेपालका शक्तिपीठमध्ये बली नचढाइने एकमात्र शक्तिपीठ हो । छत्रेश्वरीमा सर्वप्रथम अष्टभैरवले पूजा आराधना गरेकाले कुनै पनि अवसरमा बलि चढ्दैन । सत्ययुगको ऐतिहासिक सन्दर्भसँग जोडिएको छत्रेश्वरी मन्दिर सतीदेवीको शक्तिपीठको रूपमा चिनिन्छ । जनविश्वासअनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकी विश्वयात्रा गर्नेक्रममा यसै स्थानमा सतीदेवीको शरीरको शेष अङ्ग खसेको थियो । यही ऐतिहासिक मान्यताअनुसार यो स्थान शक्तिपीठको रूपमा पूजनीय रहँदैआएको छ । हरेक वर्ष महाशिवरात्री तथा अन्य चाडपर्वमा हजारौं श्रद्धालु यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।