• ३ फागुन २०८२, आइतबार

नेकपा उम्मेदवार तामाङको ‘झापा ५ : भिजन ७’ सार्वजनिक

blog

‘झापा ५ : भिजन ७’ सार्वजनिक गर्नुहुँदै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङ ।

विष्णुप्रसाद पोखरेल 

दमक, फागुन ३ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रञ्जित तामाङले ‘झापा ५ : भिजन ७’ कार्ययोजना सार्वजनिक गर्नुभएको छ । आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमार्फत तामाङले २५ मिसन, २१ लक्ष्य र १७० वटा गौरवका आयोजना समेटिएको पाँचवर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

उहाँका अनुसार निर्वाचन क्षेत्रअन्तर्गतका २९ वडामा हरेक वर्ष कम्तीमा एक–एक गौरवका योजना सञ्चालन गरिने छ । “हरेक वडामा बर्सेनि एउटा गौरवको योजना सञ्चालन गर्दा पाँच वर्षमा लक्ष्य सहजै पूरा हुन्छ,” तामाङले भन्नुभयो । उहाँले आफू स्थानीय र युवा उम्मेदवार भएकाले नयाँ पुस्ताको चाहना र ‘नवयुवाको विद्रोह’ अनुसार काम गर्न सक्ने दाबी गर्नुभयो ।

तामाङले गुणस्तरीय तथा प्राविधिक शिक्षा, स्वास्थ्य सेवामा सुधार, कृषि उद्योग र व्यवसाय प्रवर्द्धन, रोजगारी सिर्जना, भौतिक पूर्वाधार विकास, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति संरक्षण तथा वातावरण व्यवस्थापनलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

योजनाअनुसार २९ वडामा २९ आयोजना सञ्चालन गर्दा पाँच वर्षमा १४५ योजना सम्पन्न हुने उहाँको दाबी छ । त्यसैगरी चार स्थानीय तहमा प्रत्येक वर्ष चार–चार योजना सञ्चालन गरी पाँच वर्षमा २० योजना सम्पन्न गरिने उल्लेख छ । सम्पूर्ण निर्वाचन क्षेत्रका लागि प्रत्येक वर्ष एक विशेष योजना अघि सार्दै पाँच वर्षमा पाँच ठूला योजना कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

झापा क्षेत्र नं. ५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कांग्रेसकी नेत्री मन्दरा पौड्यालगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । तामाङले अन्य दलका उम्मेदवारको चर्चा बढी भए पनि ठोस योजना नरहेको आरोप लगाउनुभयो ।

यसअघि नेकपा (एमाले) ले ‘ओलीलाई मत किन ?’ शीर्षकमा बुँदागत कारण सार्वजनिक गर्दै आफ्नो पक्षमा मत दिन मतदातालाई आग्रह गरेको थियो । निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा उम्मेदवारहरूबीच एजेन्डा र विकास योजनालाई केन्द्रमा राखेर प्रतिस्पर्धा तीव्र बनेको छ ।