• ३ फागुन २०८२, आइतबार

महाशिवरात्रीमा भक्तजनको मन्दिरमा भिड

blog

महाशिवरात्रीको अवसरमा धनकुटाको विश्रान्ती मन्दिरमा भक्तजन । तस्बिरः सन्तोष सुवेदी

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), फागुन ३ गते । महाशिवरात्रीको अवसरमा आज देशैभरका शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको भिड लागेसँगै धनकुटाको मुलघाटस्थित विश्रान्ति मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ । 

आइतवार महाशिवरात्रीको अवसरमा भगवान शिवको पूजा आराधना गर्न मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । जिल्लाको बिभिन्न स्थानसहित छिमेकी जिल्लाबाट पूजा आराधानका लागि भक्तजनहरू मन्दिरमा आएका छन् । 

भक्तजनहरु बिहानैदेखि पूजा आराधनाका लागि मन्दिरमा आएका विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो । धनकुटा सदरमुकामसहित बिभिन्न पालिकामा रहेका शिव मन्दिरमा पनि शिवरात्रि मनाउन भक्तजनको घुँइचो लागेको छ ।

हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी धुमधामपूर्वक महाशिवरात्री मनाउने गर्छन् । सम्पूर्ण प्राणीहरूको हृदयमा धर्म उदय गराउने भगवान शिवको प्यारो दिनको रूपमा महाशिवरात्रीलाई लिने गरिन्छ । 

शिवरात्रीमा उपवास बसी रातभर जाग्राम बसेर गाईको दुध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ । भगवान शिवलाई जाडो नहोस् भनेर शिवरात्रीमा प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने समेत चलन रहेको छ ।