• ३ फागुन २०८२, आइतबार

सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी

blog

गौमुल गाउँपालिका –४ विजयी ढुङ्गाकी पारु रोकायाले उत्पादन गरेको सुन्तला मार्तडी बजारमा बिक्री हुँदै । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागनु ३ गते । बाजुराको गौमूल गाउँपालिका –४ निवासी पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । 

२०७४ सालमा उहाँले गाउँमा सधैँ अन्नबाली लगाउने सात रोपनी जमिनमा सुन्तला खेती गर्नुभएको थियो । २०८० सालदेखि त्यो सुन्तला फल्न सुरुभयो । अहिले त्यसलाई बिक्री गरेर उहाँले मनग्य आम्दानी गर्नुभएको हो । 

“गाउँमा धेरै जमिन छ । मैले त्यो जमिनमा राम्रो मेहेनत गरेर अन्बाली लगाउने गरेकी थिएँ । त्यसबाट मलाई खान समेत पुगेन । त्यसपछि सबै जमिनमा सुन्तला खेती गरेपछि अहिले राम्रो कमाई हुनेगरेको छ” गौमूल गाउँपालिका–४, का विजय ढुङ्गाकी किसान पारू रोकायाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अन्नबाली लगाउन खान नपुग्ने ठाउँमा अहिले सुन्तला खेतीबाट परिवार पाल्न निकै सहज भएको छ । यही सुन्तला बिक्री गरेर मेरा छोरा छोरीलाई समेत उच्च शिक्षामा पढाइ रहेकी छु ।” 

‘२०७४ सालमा झन्डै पाँच सात रोपनी जमिनमा सुन्तला खेती गरेकी थिएँ । गाउँमा रहेको पाखो जमिनमा अन्बाली लगाउँदा उत्पादन राम्रो नभएपछि सबै जमिनमा सुन्तला खेती सुरु गरेकी हुँ’ उहाँले भन्नुभयो । 

गत वर्ष गाउँमा सडक नपुगेकाले मैले त्यो सुन्तला समयमै मार्तडी पुगाउन नसकेको उहाँले बताउनुभयो । यतिबेला गाउँमा सडक पुगेपछि अहिले सुन्तला समयमै मार्तडी बजारमा ल्याएर बिक्री गर्न थालेकी छु, उहाँको भनाइ छ । 

गाउँमा उत्पादन गरेको अर्गानिक सुन्तला भएकाले यतिबेला मेरो सुन्तला राम्रोसँग बिक्री हुनेगरेको छ । “गत वर्ष अलि ढिला ल्याएकी थिएँ । तैपनि दुई–चार लाख रुपियाँ कमाइ भएको थियो” उहाँले थप्नुभयो, “अहिले समयमै सुन्तला बजारमा ल्याएकी छु । यतिबेला सुन्तला बिक्री हुने हो भने त्यसबाट मलाई यो वर्ष पाँचदेखि छ लाख भन्दाबढी रुपियाँ कमाइ हुन्छ ।” 

हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायत पालिकामा राम्रो सुन्तला उत्पादन हुनेगरेको छ । बाजुरामा उत्पादन गरेको सुन्तलालाई बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले सधै ढुवानी अनुदानको व्यवस्था मिलाउँदैआएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।