• ३ फागुन २०८२, आइतबार

चिप्लेटी बसपार्कको भविष्य खोज्दै प्राविधिक समिति

blog

बागलुङ नगरपालिका –३ गुठीस्थित चिप्लेटी बसपार्क । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन ३ गते । बागलुङ नगरपालिका –४ को उपल्लाचौरस्थित दबगरामा बसपार्क सञ्चालनमा आएपछि यसअघिको चिप्लेटी बसपार्क व्यवस्थापनबारे अहिले विवाद छ । 

बागलुङ नगरपालिकाले भने चिप्लेटी बसपार्कको उपयोग कसरी गर्न सकिन्छ भनेर विस्तृत प्रतिवेदन तयार गरी सोहीअनुसारको विकासको काम थाल्ने भएको छ । २०५७ सालमा स्थानीयको जग्गा लिएर निर्माण गरिएको बागलुङ बसपार्क सञ्चालनमा आएको छ । 

गत वर्षको असोज १ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेर बागलुङ बसपार्क सञ्चालनमा ल्याए पनि प्राविधिक कारणले चिप्लेटी बसपार्क समानान्तर रुपमा चलेको थियो । अहिले चिप्लेटीको काउन्टर बन्द गरिएको छ भने दाबगरा बसपार्क पूर्णरुपमा चलाउन नगरपालिकाले प्रयास गरिरहेको छ ।

चिप्लेटी बसपार्क बन्द हुँदा सिर्जित विवाद समाधान गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अध्ययन गर्न १५ सदस्यीय प्राविधिक समिति गठन गरिएको छ । उक्त समितिले अध्ययन गरेर दिने प्रतिवेदनको आधारमा चिप्लेटीलाई व्यावसायिक केन्द्र बनाउने वा अन्य केही गर्ने निर्णय नगरपालिकाले लिने प्रशासकीय अधिकृत भिमसेन पन्तले बताउनुभयो । 

बागलुङ बसपार्क सञ्चालन गर्न गत साउनमै आरबी कन्स्ट्रक्सन प्रालि पोखरासँग बागलुङ नगरपालिकाले सम्झौता गरेको थियो । तर पुरानो बसपार्क खाली नभएपछि यो नियमित चल्न सकेको थिएन । 

उक्त कम्पनीले हरेक वर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअकर २ लाख ११ हजार र अग्रिम आयकर २७ हजार ५ सय ४३ रुपियाँ तिर्नेगरी सम्झौता भएको थियो । २५ वर्षमा उक्त कन्स्ट्रक्सनले बसपार्क सञ्चालन गरेबापत बागलुङ नगरपालिकालाई ८ करोड ५५ लाख ६१ हजार रुपियाँ भुक्तानी गर्नेछ । 

नियमित बसपार्कमा बस नजाँदा ठेकेदार कम्पनी घाटामा पर्ने भन्दै विवाद भएको थियो । पुरानो बसपार्क खाली गर्न भने कतिपय व्यवसायी नमान्दा लामो समय स्थानीय र नगरपालिकाबिच रस्साकस्सी चल्यो । 

गत बुधबारदेखि पुरानो बसपार्क रहेको चिप्लेटी पूर्ण रुपमा खाली भएको छ । पुरानो बसपार्कलाई बहुउद्देश्यीय रुपमा सञ्चालन गर्न गठित अध्ययन प्राविधिक समितिले १५ दिनभित्र प्रतिवेदन दिनेछ । 

नगरपालिकाले नगरभित्र चल्ने जिप, माइक्रोबस, ट्याक्सी र अटोलाई व्यवस्थापन गर्न उक्त स्थान प्रयोगमा ल्याउन सकिनेबारे समितिले अध्ययन गरेर प्रतिवेदन दिनेछ । स्वच्छ नगर र सफा नगर बनाउने अभिायनमा प्रतिवेदनको आधारमा काम गरिने नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । 

उक्त स्थानलाई साना गाडीको पार्किङस्थल बनाउन सकेमा बजारमा अव्यवस्थित पार्किङ रोकिने, सवारी दुर्घटना न्युनीकरण हुने र सफा नगर बन्ने नगर प्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।