गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको १९ औँ अधिवेशन अन्त्य गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेपछि अधिवेशन अन्त्य गर्नुभएको हो ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको १९ औँ अधिवेशनको अन्तिम बैठक फागुन १ गते शुक्रबार बसेपछि अधिवेशन अन्त्य हुने छ । प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको आग्रहमा सरकारले सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले माघ ४ गतेदेखि आह्वान गर्नुभएको अधिवेशन अवधिमा राष्ट्रिय सभाका आठ वटा बैठक भए ।
प्रवक्ता गिरीले शुक्रबार फागुन १ गतेका लागि निर्धारित बैठक नियमित कार्यसूचीबमोजिमै सञ्चालन हुने र त्यसपछि राष्ट्रपतिबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्र सभाका अध्यक्षले वाचन गर्नुहुने बताउनुभयो । बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिमा भएगरेका कामको सङ्क्षिप्त विवरण सदनलाई जानकारी गराउनुहुने छ । राष्ट्रिय सभाका सदस्यहरूले निर्वाचनको पूर्वसन्ध्यामा बैठक सञ्चालन गर्दा निर्वाचनको प्रचारप्रसारलगायतका गतिविधिमा संलग्न हुन नपाउने भएकाले अधिवेशन अन्त्यका लागि आग्रह गर्नुभएको थियो ।