• १९ असार २०८१, बुधबार

बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ

blog

सिराज खान 

नेपालगञ्ज, साउन १ गते । गत आर्थिक वर्ष २०७८–७९ मा बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर पनि फरार रहेका करिब तीनसय प्रतिवादीलाई पक्राउ गरेर सजाय र जरिवाना भुक्तान गराउने काम गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार प्रहरीले अदालतबाट दोषी करार भएर कैद भुक्तान र जरिवानाबाट बच्ने आशले फरार रहेका २८१ जनालाई गत आर्थिक वर्षमा पक्राउ गरेको हो । 

अदालतबाट दोषी करार भएर सजाय पाए पनि फरार रहेका प्रतिविादीलाई बाँके प्रहरीले योजना नै बनाएर पक्राउ गर्दैआएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । सो अभियान चालु आर्थिक वर्ष २०७९–८० मा पनि जारी रहने बाँके प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरी प्रमुख अधिकारीले पक्राउ परेका फरार प्रतिवादीहरु ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जबर्जस्ती करणी, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकाहरु रहेको बताउनुभयो । 

उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेकोमा असुली शुरु गरिएको एसपी अधिकारीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले फरार प्रतिवादीको सङ्ख्याया अझै बढ्न सक्ने बताउँदै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको जानकारी दिनुभयो । 

पक्राउ गरिएका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने कार्य भइरहेको जानकारी दिँदै सीमाक्षेत्र भएकाले अधिकांश फरार अभियुक्त भारतमा गएर लुकेर बस्ने गरेकाले खोजीमा समस्या भएको उहाँले बताउनुभयो । 

अदालतबाट तारेखमा छुटेर फैसला भएका धेरै जना अझै फरार छन् । फरार प्रतिवादीहरुमध्ये अधिकांश सीमापारी छन् भने केही सङ्ख्यामा नेपालमै रहेको प्रहरीले जनाएको छ ।