सुर्खेत समाचारदाता
सुर्खेत, माघ २८ गते । यस पटक विद्यालयमै पुगेर पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिइने भएको छ । सुर्खेतका २२० वटा विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय नजाने १० वर्षमाथिका बालिका गरी कुल पाँच हजार ८१८ जनालाई सो खोप दिइने छ । आगामी फागुन १ देखि ५ सम्म सो खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० मा अध्ययनरत छात्रा र खोप लगाउन छुटेका विद्यालय नजाने १० र ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइने बताउनुभयो ।
छात्रालाई खोप लगाउनुपर्ने भएकाले यस पटकदेखि विद्यालयलाई नै खोप केन्द्र मानेर विद्यालयमै खोप दिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । गत वर्ष सो खोप अभियानका रूपमा लगाइएको तर यस पटकदेखि नियमित खोप कार्यक्रममा परिणत गरिएको छ । विद्यालयमा खोप लगाइएपछि अब विद्यालयमा शिक्षा मात्र होइन, सबै खोप लगाएको भनी पूर्ण खोप विद्यालय पनि घोषणा गर्ने कार्यक्रम रहेको छ ।