• २८ माघ २०८२, बुधबार

फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २८ गते । आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ । 

निर्वाचन आयोगको मङ्गलबार सम्पन्न बैठकको निर्णयानुसार यस्तो निर्देशन दिइएको हो । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने उल्लेख छ । 

घोषणापत्र सार्वजनिक गरेर राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।