विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ २७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता बन्न नभई बेटा (छोरा) बन्न मधेस आएको बताउनुभएको छ ।
विगतमा मधेसले कांग्रेसलाई धेरै गुण लगाएको स्मरण गर्दै उहाँले केही कुरामा आफूहरू चुकेको र अब मधेसप्रति पूर्ण समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यकर्ता भेटघाट तथा अन्तरक्रियाका लागि मङ्गलबार सप्तरी आइपुग्नुभएका उहाँले कञ्चनरूप नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको नेतृत्व गर्न मधेसको भावना बुझ्नु अनिवार्य रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “मधेसको नेतृत्व गरे मात्र देशको नेतृत्व सम्भव छ । कांग्रेस नेतृत्वको सरकारले सिंहदरबारबाट मधेसका मुद्दा सम्बोधन गर्ने गरी काम गर्नेछ ।”
देश चलाउन केवल जोस मात्र भएर नपुग्ने भन्दै उहाँले सुझबुझ, प्रतिज्ञा, करुणा र दया पनि आवश्यक रहेकोमा जोड दिनुभयो । “नेपाली कांग्रेससँग सपना, सङ्कल्प, जोस र अनुभव छ,” थापाले स्पष्ट पार्नुभयो । उहाँले युवाको माग सम्बोधन गर्न कांग्रेस बदलिएर आएको र बदलिएको कांग्रेसले मात्र देश बदल्ने दाबी गर्नुभयो । “पार्टीको पवित्रता र सिद्धान्तमा कतै सम्झौता नगर्ने गरी नेपाली कांग्रेस नयाँ ढङ्गले अघि बढेको छ,” उहाँको भनाइ थियो ।
संविधानलाई तलमाथि हुन नदिने र संविधानभित्र सबैलाई मिलाएर लैजान कांग्रेस प्रतिबद्ध रहेको बताउँदै उहाँले मधेस लगायत सबै वर्ग र समुदायको अधिकारलाई थप बलियो बनाउन संविधान संशोधन गरिने उद्घोष गर्नुभयो ।
यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले निर्वाचनपछि बन्ने कांग्रेसको सरकारले भ्रष्टाचारविरुद्ध महासङ्ग्राम सुरु गर्ने दाबी गर्नुभयो । यो निर्वाचनमा पार्टीले घोषणापत्र नभई सङ्कल्प लिएर आउने जानकारी दिँदै उहाँले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महामन्त्री थापाले सप्तरीको निर्वाचन क्षेत्र नं. १, ३ र ४ अन्तर्गतका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं. १ का उम्मेदवार रामदेव साह, क्षेत्र नं. २ का उम्मेदवार रामकुमार यादव, क्षेत्र नं. ३ का उम्मेदवार दिनेश कुमार यादव र क्षेत्र नं. ४ का उम्मेदवार तेजुलाल चौधरी लगायत पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।