• २७ माघ २०८२, मङ्गलबार

उल्टियो ‘गोरे’ को मुद्दा, थप १० वर्ष कैद सजायको फैसला

blog

विराटनगर समाचारदाता

विराटनगर, माघ २७ गते । बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत मोरङको यसअघिको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै उच्च अदालतले उप्रेतीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप कैदको फैसला सुनाएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजालासले आइतबार राति यो फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत मोरङले गोरेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद (२० वर्ष) को सजाय सुनाएको भए पनि अपहरण तथा शरीर बन्धक मुद्दामा भने सजाय तोकेको थिएन । उच्च अदालतको नयाँ फैसलासँगै गोरेले अब अतिरिक्त थप १० वर्ष जेल सजाय भोग्नुपर्ने भएको छ । माघ २० गतेदेखि सुरु भएको निरन्तर सुनुवाइपछि अदालतले यस्तो ठहर गरेको हो ।

अदालतले जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका अन्य केही प्रतिवादीका हकमा भने सजाय घटाउने निर्णय गरेको छ । जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएका नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा उच्च अदालतले १०–१० वर्ष मात्र कैद सजाय हुने फैसला गरेको छ । त्यसै गरी कर्तव्य ज्यान मुद्दामा मतियारका रूपमा संलग्न देखिएका मदन सिलवालका हकमा जिल्लाको फैसला उल्टिएको छ । जिल्लाले सिलवाललाई सफाइ दिएको थियो तर उच्च अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । लाक्पा शेर्पा र भविन तामाङको हकमा भने जिल्ला अदालतको साबिककै फैसलालाई उच्चले सदर गरेको छ । यसैबिच बहुचर्चित करिब ३८ क्विन्टल सुन तस्करीसँग जोडिएको सङ्गठित अपराध र भन्सार चोरीनिकासीको मुद्दामा भने अदालतले सरकारी दाबी नपुग्ने ठहर गरेको छ ।