• २६ माघ २०८२, सोमबार

नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश

blog

धर्मेन्द्र झा

काठमाडौँ,  माघ २६ गते ।  इतिहास साक्षी छ, काठमाडौँ उपत्यका रङ्गमञ्चीय प्रस्फूटनका लागि मल्लकालदेखि नै उर्बर भूमिका रुपमा स्थापित छ । मल्ल राजाहरु प्रताप मल्ल, जगज्योति मल्ल, सिद्धिनरसिंह मल्ल, जगतप्रताप मल्ल आदिको समयमा मैथिली र नेपालभाषाको रङ्गमञ्चको विकास उत्कर्षमा थियो । मल्लकालको पतनपछि रङ्गमञ्चको विकासको गति केही रोकिन पुगेको अनुभूत गरियो र यो क्रम लामै समयसम्म कायम रह्यो । 

विसं २०४६ को जनआन्दोलनपछिको समय हो, नेपालमा रङ्गमञ्चको यात्राले पुनः गति प्रारम्भ गर्नसक्यो । आरोहण गुरुकूल, सर्वनाम, मिनाप जस्ता संस्था उत्कर्षमा थिए । प्रचण्ड मल्ल, नीर शाह, अशेष मल्ल, सुनील पोखरेल, नवीन सुब्बा, अनुप बराल, विजय विष्फोट, महेन्द्र मलंगिया, योगेन्द्र नेपाली, सरुभक्त, निशा शर्मा, रमेश रञ्जन आदिजस्ता निर्माता, निर्देशक र लेखकहरु नेपाली रङ्गमञ्चको प्रवद्र्धनमा संलग्न रहेको इतिहास साक्षी छ । २०४६ को जनआन्दोलन लगत्तै सर्जकहरुले वातावरण अनुकूल भएको अनुभव गरी सक्रियतामा वृद्धि गरेका थिए । अन्य क्षेत्रजस्तै रङ्गमञ्चमा पनि यो मनोदशाको प्रभाव स्वाभाविक थियो । नेपाल प्रज्ञा प्रतिष्ठान सक्रिय भएको अनुभव गरिएको थियो । प्रतिष्ठानले वर्षेनि नाट्य महोत्सवको आयोजन प्रारम्भ गरेको थियो । देशभरिबाट आफ्नो प्रतिभा र अभिव्यक्ति ‘बुलन्द’ गर्न अनेकौँ नाट्य संस्था सहकर्मीसहित राजधानी ओइरिन्थे र आफ्नो प्रतिभा प्रस्तुत गर्थे । राजधानीमा औपचारिक र अनौपचारिक विमर्श हुने गर्दथ्यो । नाटक हेर्न दर्शक आकर्षित हुन थालेका थिए । 

कालक्रमसँगै यो वातावरण खलबलिएजस्तै भयो । रङ्गमञ्च–सक्रियता केही बाधित भएजस्तो भयो । मैतीदेवी र बत्तीसपुतलीबीचमा अवस्थित गुरुकूलको प्रेक्षालय तहसनहस हुन पुग्यो । महान नाट्य स्रष्टा सुनील पोखरेल बिथोलिनसम्म बिथोलिए । राज्यले आफ्नो सरोकारको विषय नमान्दा रंगमञ्चीय विकास–विस्तार प्रभावित हुन पुग्यो । यसप्रति सायद असहमति व्यक्त गर्न सकिँदैन । नाटक प्रदर्शित हुने क्रम त रोकिएन तर सार्थकताको खोजीले स्पष्ट आकार प्राप्त गर्न सकिरहेको थिएन । 

पछिल्ला वर्षमा भने अवस्थामा सुधार आएको मान्न सकिन्छ । बिथोलिएको गुरुकूल अहिलेसम्म ठडिन सकेको छैन तर शिल्पी कोशी थिएटर आशाको केन्द्र बनेर उपस्थित हुन सक्नु सन्तोषको विषय हो । नाटक थिएटरका सिटहरुमा पुनः दर्शकको उपस्थिति देखिन थालेको छ । नाटकप्रतिको आकर्षणमा पुनः वृद्धि भएको अनुभव गरिएको छ । व्यावसायिक रुपमा नाटक प्रदर्शित हुन थालेका छन् र टिकट काउन्टरमा भीड देखिन थालेको छ । नाट्यकर्मीहरु हौसिन थालेका छन् र उनीहरु आफ्नो प्रतिभा प्रमाणित गर्दै ‘क्यारियर’ स्थापित गर्न तल्लिन देखिएका छन् । 

पछिल्लो समय काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा यस्तै सन्तोष गर्न सकिने अवस्था अनुभूत गरियो । काठमाडौमा यो थिएटरले निकै लामो समयदेखि सङ्घर्ष गर्दै नाटक अर्थात रङ्गमञ्च जोगाउने प्रयास गर्दै आएको छ । यही नाटक जोगाउने सन्दर्भमा पछिल्लो समयमा जोडिएको छ बहुरिया । यही माघ ८ गतेदेखि प्रदर्शन प्रारम्भ भएको बहुरिया माघ २९ सम्म प्रदर्शित हुनेछ । दर्शकमार्फत समग्र समाजसामुु प्रश्न ठड्याइरहेको बहुरिया समान्यजस्तो कथावस्तु लाग्ने विशिष्ट प्रस्तुतिका रुपमा प्रस्तुत भएको छ भन्दा अस्वाभाविक हुँदैन । 

जम्मा दुईजना पात्रमा सीमित बहुरियाले करिब एक घण्टाको प्रदर्शनको समयमा उठान गरेका प्रश्नले नेपाली समाजको वर्तमानको मथिगङ्ल खल्बल्याउने प्रयास गरेको छ भन्दा अन्यथा ठहर्दैन । एउटा अँध्यारो बन्द कोठाभित्र प्रारम्भ भएर त्यही कोठाभित्रको लगातारको झिङ्गाको भुनभुन, लालटेनको मधुरो उज्यालो, सिलाई मेसिन, सानो चौकी ९खाट०, दराज, खानाको थाल अनि अत्यासलाग्दो उकुसमुकुस, सकसपूर्ण वातावरण, अनिश्चितता, मानसिक र शारिरीक द्वन्द्व, अनेकन डोरीहरुले निर्माण गरेको मनोवैज्ञानिक कारागार, कठपुतलीको ब्यङ्ग्यसँगै अन्त्य भएको छ बहुरिया । बहुरिया अर्थात कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी । तर, बहुरियाकी कहुरियाले मातृसुख भने भोग्न पाएकी छैनन् । विवाहको चार वर्ष भइसक्दा पनि पतिले उनको शरीर छुन चाहेको छैन । किन रु यही प्रश्नको उत्तरको खोजीले नाटकलाई डो¥याउने प्रयत्न गरेको छ । बहुरिया स्वयंमा प्रयोग त हो नै सँगसँगै आँट, सङ्घर्ष, विद्यमान सामाजिक संरचनामाथिको प्रहार, विद्रोह र आवश्यक–अनिवार्य वहस पनि हो । अनेकन प्रश्नको उत्तर खोज्ने प्रयत्न पनि हो बहुरिया । 

बहुरियाको लेखक–निर्देशक हुनुहुन्छ सुरज यादव । नाटकको शीर्ष भूमिकामा स्वयं सुरज र प्रशंसा सिवाकोटी हुनुहुन्छ । यही दुई पात्रले नाटकलाई प्रारम्भ गर्दै अन्त्यसम्मको यात्रा गरेका छन् । नाटकको निर्देशकका रुपमा सुरजको भूमिका जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण छ रचनात्मक निर्देशकको भूमिका निर्वाह गर्ने सरिता गिरीको । सुरज लेखक पनि भएकाले उहाँको निर्देशकीय भूमिका लेखकको मनोभावबाट धेरै हदसम्म प्रभावित भएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर गिरीको प्रयासले नाटकमा प्रभाव उत्पन्न गर्न महत्वपूर्ण योगदान निर्वाह गरेको कुराको साक्षी, मञ्चभरि विभिन्न अवस्थामा विद्यमान कठपुतलीहरु हुन् । अनि, अनेकौं विषयको प्रतीक बनेर प्रस्तुत भएको छ धुवाँ । नाटकमा अनेकांै यस्तो अवस्था आउँछ जसको सम्बोधन धुवाँमार्फत गर्ने प्रयत्न गरिएको छ । धुवाँ कहिले अनिश्चय, भ्रम त कहिले व्यङ्ग्य अनि कहिले श्वरहीन अभिव्यक्तिका रुपमा प्रस्तुत भएको छ । निश्चय गिरीको प्रयास महत्वपूर्ण छ ।

अभिभावक सामु समयमा आफ्ना कुरा व्यक्त गर्न नसकेर आज्ञाकारी सन्तानको कथित मर्यादा कायम गर्ने सन्दर्भमा एकजना युवक ९रामचरण०ले एक युवती ९सीता०सँग विवाह गर्छ । विवाहका लागि मानसिक रुपमा तयार नरहेको युवक विवाह हुनेबित्तिकै भाग्छ र चार वर्षपछि सम्पर्कमा आउँछ । युवती भने पतिको प्रतीक्षा गरिरहेकी हुन्छिन् । युवक फेरि भाग्नसक्ने डरले घरपरिवारका मानिसले उसलाई बाँधेर कोठाभित्र राख्छन् । त्यही कोठाभित्र उक्त युवक र युवतीबीच मानसिक र मनोवैज्ञानिक द्वन्द्व हुन्छ । उनीहरुबीचको सबै संवाद यसैसँग सम्बन्धित छन् । कतिपय ठाउँमा सामान्य लाग्ने संवाद कतिपय ठाउँमा बोझिला प्रतीत हुन्छन् । रामायणका पात्र राम र सीतालाई प्रतीक मानी यस नाटकका दुई पात्र यसै नाममा प्रस्तुत् छन् र ती पात्रबीचका केही संवादमार्फत रामायणकै सन्देशबारे पनि प्रश्न उठान गर्ने प्रयत्न गरिएको छ । अन्त्यमा युवकले आफूले विवाह बन्धनबाट मुक्ति चाहेको याचना गर्दछ र निकै मार्मिक मनोदशाको अभिव्यक्तिपछि युवतीले युवकलाई बन्द कोठाबाट मुक्ति गरिदिन्छिन् । रामायणमा राम घरमा बसेर सीता बाहिरिएको सन्दर्भ विपरीत यस नाटकमा सीता घरमा बसेर राम पात्र बाहिरिन्छ र नाटक समाप्त हुन्छ । मुलतः नाटकको कथा यति नै भए पनि यसलाई नाटकीय ढङ्गले प्रस्तुत गरिएको छ ।         

मिथिला–मधेशको मूल कथावस्तुलाई नेपाली भाषाका माध्यमबाट मैथिली र नेपाली भाषा, संस्कृति, धरातलीय यथार्थलाई ‘फ्युजन’ गरी प्रस्तुत गरिएको नाटक मूलतः नारी मनोविज्ञानको सेरोफेरोमा केन्द्रित छ । पृष्ठभूमि मिथिलाञ्चलको छ । मिथिला संस्कृति झल्किने गीत–सङ्गीत र प्रचलन प्रदर्शित छन् । नाटकको भाषा नेपाली छ तर थोरै मैथिली भाषा र भाव मिसिएको छ । नाट्क हो, केही नाटकीयतालाई स्वाभाविक नै मान्नुपर्छ तर नाटकले नारीको मनोभाव, आवश्यकता, इच्छा–आकांक्षा, समर्पण, त्याग, विद्रोहलाई  सशक्त अभिव्यक्तिको स्वर प्रदान गर्ने प्रयास गरेको छ । मनोदशाको सुक्ष्म विश्लेषणमार्फत नारी अभिव्यक्तिको प्रयास यस नाटकमा जति महत्वपूर्ण छ त्यति नै आफ्नाबारेमा निर्णय गर्न पाउने पुरुष अधिकारको सन्दर्भ पनि महत्वपूर्ण छ । 

मिहीन ढङ्गले नाटकको कथावस्तुको विश्लेषण गर्ने हो भने परम्परादेखि चल्दै आएको पारिवारिक दबाबको शिकार युवक र युवती दुबै भएको पाउन सकिन्छ । यस दृष्टिले भन्ने हो भने पृष्टभूमि  मिथिला र मधेश भए पनि नाटकको कथा समग्र नेपाली समाजसँग सम्बन्धित छ । निश्चय पनि हाम्रो समाज पुरुषप्रधान छ । हाम्रा धेरैजसो निर्णय यसै मनोदशाबाट हुन्छन् । तर पितृसत्तात्मक संरचनाको असर महिलामाथि मात्र पर्छ रु यस नाटकले प्रश्न गरेको छ । सँगै, के पुरुषका इच्छाको मात्र महत्व हुन्छ रु महिलाको इच्छाको कुनै महत्व हुँदैन भन्ने प्रश्नको उत्तर खोज्न पनि नाटकले प्रेरित गरेको छ ।   

स्वयं लेखक–निर्देशक सुरजका अनुसार नाटकमार्फत विवाह गरेर अर्को घरमा जाने एउटी केटीले आफ्नो आशाअनुसारको श्रीमान वा परिवार नपाउँदा भोग्नुपर्ने मानसिक पीडा, सामाजिक दबाब र असहजतालाई देखाउन खोजिएको छ । त्यस्तै केटा र केटी दुवैले आफ्नो इच्छा विपरीत विवाह गर्दा र स्वतन्त्रता नपाउँदा जीवनमा पर्ने मनोवैज्ञानिक असर, भावनात्मक चोट र सङ्घर्षलाई नाटकको विषयवस्तु बनाउन खोजिएको छ ।

नाटकमा उत्सुकता छ । रोमाञ्च छ । थ्रिलर छ । स्रष्टा विजय बरालका अनुसार कथाका रहस्यहरु खोतलिँदै जाँदा पैदा हुने कौतुहलताले दर्शकलाई निरन्तर सक्रिय बनाइरहन्छ । नाटकको रचनात्मक निर्देशक रहनुभएकी सरिता गिरीको भनाइ अत्यन्तै महत्वपूर्ण छ–आध्याँरो घरभित्र भित्तामा टाँसिएको कठपुतली, चुल्हो निभेको धुवाँ जस्तै हाम्रा सम्बन्ध निस्सासिएको छ आज । यो सम्बन्ध न प्रेम मात्रै हो, न द्वन्द्व, सम्बन्धका रङहरु यी भित्तामा झुण्ड्याइएका कठपुतलीजस्ता । 

नाटकको सार गिरीले भनेजस्तै त हो तर फेरि पनि प्रश्न उठ्छ–कठपुतलीको सञ्चालक को हो रु नाटकका पात्रलाई झैं कठपुतली कसले नचाइरहेको छ रु नाटकको एक दृश्यमा बहुरिया (सीता) पात्रले दुई वटा पुतली (सायद पुरुष र महिलाका प्रतीक) लाई खेलाउँदै प्रवाहित गर्न खोजेको व्यङ्ग्यात्मक सन्देश निकै महत्वपूर्ण छ ।      

सङ्क्षेपमा भन्नुपर्दा, सन्देश प्रवाहमा नाटक पूर्ण सफल छ । सुरज र प्रशंसाको अभिनय सशक्त छ । निर्देशन ठीकठाक छ । कतिपय दृश्यमा कलाकार अति नाटकीयताबाट प्रभावित भएका हुन् कि भन्ने भान हुन्छ । कतिपय ठाउँमा हाँसो र रोदनका दृश्य असान्दर्भिक छन कि भन्ने प्रश्न उठ्छन् । नाटक हो, प्रत्येक प्रदर्शनमा निर्देशकीय सुधार र परिवर्तनको सम्भावना त रहन्छ नै । भविष्यका प्रदर्शनहरु थप परिष्कृत हुने आश गर्नु अस्वभाविक हुँदैन । रासस