• २६ माघ २०८२, सोमबार

मधेस निर्माणका लागि सङ्घर्ष जारी छ : अध्यक्ष यादव

blog

सप्तरी, माघ २५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा आठ जिल्ला समेटिएको मधेस प्रदेश बनेको उल्लेख गर्दै २२ जिल्लाको मधेस निर्माणका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।

सप्तरीको राजगढ गाउँपालिका–४, बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अनेकौँ चुनौतीका बाबजुद आठ जिल्लाको मधेस प्रदेश बनाउन सफल भएको चर्चा गर्दै सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका यादवले भन्नुभयो, “देशमै पहिचानमा आधारित प्रदेश मधेस मात्र हो । अब २२ जिल्लाको मधेस निर्माण गर्नका लागि जसपा नेपाल बलियो शक्ति भएर उदाउनु जरुरी छ ।”

सीमान्तकृत, बहिष्कृत, शोषित र पछाडि पारिएका समुदायको अधिकार, पहिचान र राज्यका स्रोत–साधनमा समान पहुँचका लागि नै मधेस जनविद्रोह भएको अध्यक्ष यादवले उल्लेख गर्नुभयो । राज्यका अङ्गहरूमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, “नेपालमा जस्तो महिलाको भागीदारी विकसित मुलुकहरूमा पनि छैन, यो सबै परिवर्तन जनविद्रोहकै उपलब्धि हो ।”

सङ्घीयता विरोधी शक्तिले मधेसी, महिला, दलित, आदिवासी जनजाति र थारू लगायतका समुदायले प्राप्त गरेको अधिकार खोस्न उद्यत रहेको आरोपसमेत उहाँले लगाउनुभयो । प्रदेशलाई पर्याप्त अधिकार नदिएर 'प्रदेश काम नलाग्ने र खर्चिलो भयो' भनी गलत भाष्य निर्माण भइरहेको भन्दै उहाँले त्यस्ता भ्रममा नपर्न जनसमुदायसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्वमन्त्री रेणुकुमारी यादव, केन्द्रीय सचिव एवं पूर्वमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वउपसभामुख उपमा देव, केन्द्रीय सदस्यद्वय अमरनाथ मण्डल र चन्देश्वर सदा, समानुपातिक उम्मेदवारहरू सङ्गीता मण्डल र चुल्हाई मण्डल, पार्टीका जिल्ला अध्यक्ष सुनीलकुमार झा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अध्यक्ष यादवले आइतबारै राजगढ गाउँपालिकाका विभिन्न वडा र टोलमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाउनुभएको छ ।