• २३ माघ २०८२, शुक्रबार

केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री: सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

blog

सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुहुँदै गृहमन्त्री ओमप्रकाश अर्याल ।

काठमाडौँ, माघ २३  गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन 'हाई अलर्ट' (उच्च सतर्कता) मा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो।

बैठकले निर्वाचन तयारीका सम्बन्धमा विगतका बैठकले गरेका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउन सक्ने थप सुरक्षा चुनौतीहरूलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको छ।

गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि रहने केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी कार्यान्वयनमा रहेको 'एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२' बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्य, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।

बैठकले सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने, निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको बिमा गर्ने, सञ्चार सम्पर्क नहुने मतदान स्थलको पहिचान गरी आवश्यक व्यवस्था गर्ने तथा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्ने लगायतका निर्णय गरेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।