• २३ माघ २०८२, शुक्रबार

गहुँ मासेर राजनीतिक कार्यक्रम

blog

शुभकालिका गाउँपालिका–४, गहुँबालीमा नेकपाको एकता सन्देश सभास्थल ।

कालीकोट समाचारदाता 

कालीकोट, माघ २३ गते । कालीकोट जिल्लाको एक स्थानीय तहमा गहुँबाली भएको खेतमै राजनीतिक कार्यक्रम आयोजना गरिएपछि त्यसको विरोध गरिएको छ । शुभकालिका गाउँपालिका–४ मा नेपाली कम्युनिस्ट पार्टीद्वारा आयोजित एकता सन्देश सभा नाम दिएको कार्यक्रममा खेतमा त्रिपाल टाँगी, झन्डा गाडेर, ठुलो सङ्ख्यामा मानिस भेला गरिँदा गहुँबालीमा क्षति पुगेकाले स्थानीयले विरोध गरेका हुन् । 

स्थानीय किसानका अनुसार गहुँ पाक्ने समयमा यसरी खेत प्रयोग गर्दा उत्पादनमा प्रत्यक्ष असर पर्ने छ । उक्त वडाका स्थानीय रमेश सुनारले पाक्न लागेको खेतको गहुँ मासेर राजनीतिक कार्यक्रम गर्नु उचित नभएको बताउनुभयो । कार्यक्रम भएपछि अहिले गाउँबस्तीमा विरोधको आवाज उठेको छ । किसानको श्रम, निजी सम्पत्ति र जीविकासँग प्रत्यक्ष जोडिएको जमिनमा राजनीतिक गतिविधि गर्नु गैरजिम्मेवार भएको भन्दै अबको दिनमा त्यस्ता कार्यक्रम नगर्न आग्रह गरिएको छ । 

कार्यक्रम नेपाली कम्युनिस्ट पार्टी कालीकोटका प्रत्यक्षतर्फका उम्मेदवार महेन्द्रबहादुर शाहीको चुनावी सभा हो । स्थानीय हस्त सुनारले गरिब तथा दलित समुदायका किसानको खेत प्रयोग हुनु सामाजिक न्यायको दृष्टिले समेत संवेदनशील विषय भएको बताउनुभयो । उहाँले सार्वजनिक कार्यक्रमका लागि खुला मञ्च, खाली स्थान प्रयोग गर्न सकिने हुँदाहुँदै पाक्नै लागेको बाली मासेर खेतमा कार्यक्रम गरिनु गलत भएको जनाउनुभयो । 

स्थानीय बासिन्दाले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन स्पष्ट मापदण्ड बनाउन र किसानलाई भएको क्षतिको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् तर कार्यक्रमको आयोजक पक्षले भने यो गहुँबारी आफ्ना कार्यकर्ताको भएकाले सहमतिमा कार्यक्रम गरेको दाबी गरेका छन् ।