• २३ माघ २०८२, शुक्रबार

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप

blog

कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय । तस्बिर : ललित

सुर्खेत समाचारदाता 

सुर्खेत, माघ २३ गते । कर्णाली प्रदेशका कक्षा ६ मा अध्ययन गर्ने र विद्यालय नजाने १४ वर्षमुनिका २१ हजारभन्दा बढी बालिकालाई पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिन लगाइएको छ । यही माघ २५ गतेदेखि अवस्था हेरेर कर्णालीका १० वटै जिल्लाका सो खोप दिन लागिएको हो । 

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा कक्षा ६ मा अध्ययन विद्यालयका छात्रा २० हजार ४८४ जना र विद्यालय नजाने ११ वर्षदेखि १४ वर्षमुनिका ९१६ जना किशोरी गरी कुल २१ हजार ३९८ जनालाई खोप दिइने छ । निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रसाद पौडेलले खोप यही माघ २५ गतेदेखि जिल्लाको अवस्था हेरेर वैशाख महिनासम्म दिइने जनाउनुभयो । उहाँका अनुसार दैलेख र जाजरकोटले माघ २५ देखि, सल्यान र रुकुमपश्चिमले माघ २७ देखि, सुर्खेतले फागुन १ गतेदेखि, कालीकोट र मुगुले फागुन ४ गतेदेखि सो खोप दिन सुरु गर्ने छन् । 

हुम्ला र जुम्लाले फागुन अन्तिमदेखि तथा डोल्पाले वैशाख पहिलो सातादेखि खोप दिने उहाँले बताउनुभयो । फागुन तेस्रो सातामा आमनिर्वाचन भएको र हिमाली जिल्लामा हिमपातले गर्दा चुनाव पछि र वैशाखको महिनामा खोप लगाउने तयारी गरेको जानकारी पौडेलले दिनुभयो । कर्णालीमा सबैभन्दा धेरै सुर्खेतमा पाँच हजार ३४८ जनालाई खोप दिइने छ । 

दैलेखमा तीन हजार ४३२ जना, कालीकोटमा एक हजार ८१३ जना, सल्यानमा दुई हजार ३२१ जना, जाजरकोटमा दुई हजार ६११ जना, रुकुमपश्चिममा एक हजार ८५० जनालाई खोप दिइएको छ । जुम्लामा एक हजार ३४१ जना, हुम्लामा एक हजार ४१५ जना, मुगुमा ७१५ जना र डोल्पामा ५०२ जनालाई एचपिभी खोप दिइने छ । खोप लगाउनका लागि आवश्यक जनशक्तिलाई पूर्ण रूपमा तालिम दिइसकिएको भन्दै जनस्वास्थ्य अधिकृत पौडेलले खोप पनि पर्याप्त मात्रामा आइसकेको जानकारी दिनुभयो । विगतमा अभियानका रूपमा लगाइने यो खोप यस पटक नियमित रूपमा राखिएको र यस पटक कक्षा ६ मा अध्ययन गर्ने बालिका तथा ११ वर्षदेखि १४ वर्षमुनिका किशोरीलाई मात्रै सो खोप दिइने उहाँको भनाइ छ । अघिल्लो वर्ष सो खोपको कभरेज ९० प्रतिशत भएको थियो । सन् २०३० भित्र पाठेघरको मुखको क्यान्सर निवारणको लक्ष्य राखिएको छ । 

स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले विगतमा दुई पटक सो खोप लगाइएकोले कुनै नकारात्मक असर नभएको हुँदा यो एचपिभी खोप निकै प्रभावकारी भएको बताउनुभयो । उहाँले यदि कुनै नकारात्मक असर देखिएमा पालिका र जिल्ला तहमा तत्काल उपचार टोली पनि तैनाथ रहेकाले पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउने खोप भएकोले लक्षित वर्गलाई खोप लगाउन सबैले सहयोग गर्न आग्रह गर्नुभयो । 

गत वर्ष धेरै जसोले थाहा नभएका कारणले करिब पाँच प्रतिशतले खोप लगाउन छुटेको हुँदा त्यस पटक खोप लगाउनका लागि प्रेरित गर्नुपर्ने सुझाव डा. खड्काले दिनुभयो । खोप केन्द्र विद्यालय र स्वास्थ्य संस्थालाई तोकिएको छ । सामाजिक विकास मन्त्रालयका सचिव एवं खोप समन्वय समितिका संयोजक धोलकराज ढकालले खोपको प्रभावकारिता राम्रो भएकोले खोप लगाउनबाट लक्षित वर्ग छुट्न नहुने बताउनुभयो ।