माछापुच्छ्रे समाचारदाता
माछापुच्छ्रे (कास्की), माघ २३ गते । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेशको समृद्धिसँगै सङ्घीयता बलियो हुने बताउनुभएको छ । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा बिहीबार पोखरामा आयोजित कार्यक्रममा भट्टले गण्डकी सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न सबै एक भएर उद्देश्य प्राप्तिमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउनु र उनीहरूको जीवनस्तर बदल्न बहुआयामिक भूमिका खेल्नु प्रदेशको जिम्मेवारी हो ।” प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा गण्डकी प्रदेश सफल बनेको उहाँको भनाइ थियो ।
आगामी दिनमा पनि गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारबिच सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायोचित तथा समतामूलक विकास एवं सम्बद्ध कानुन निर्माण र कार्यान्वयन विषयमा सहअस्तित्व र समन्वयका आधारमा सहकार्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न संवैधानिक अधिकारबमोजिम प्राप्त जिम्मेवारी कार्यान्वयनमा सङ्घीय सरकार तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनका आठ वर्षमा गण्डकी प्रदेशले प्रादेशिक संरचनाको औचित्य प्रमाणित गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बिचमा बसेर पनि सुशासन, मितव्ययिता र नागरिककेन्द्रित सेवामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विकास, नीति, सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ गर्दै नागरिकले देख्ने, सुन्ने र महसुस गर्ने गरी गण्डकी प्रदेश सरकारले आफूलाई स्थापित गर्न लागिपरेको दाबी उहाँको छ । उहाँले भन्नुभयो, “विगतका अनुभवबाट सिक्दै, कमजोरी सुधार्दै र उपलब्धिलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने सङ्कल्प गर्दछौँ ।”
मुख्यमन्त्री पाण्डेले प्रशासनिक पुनर्संरचनामार्फत ३२ कार्यालय गाभेर १९ एकीकृत कार्यालय स्थापना गरिएको र ३०४ भन्दा बढी दरबन्दी कटौती गरी करोडौँ रुपियाँको व्ययभार घटाइएको जानकारी दिनुभयो । गत भदौमा भएको विनाशकारी घटनापछि पुनर्निर्माणका लागि चालु खर्च कटौती गर्दै प्रशासनिक खर्चमा करिब २० प्रतिशत बचत गरिएको उहाँको भनाइ छ ।
पर्यटन र व्यापार प्रवर्धनका लागि केरला नाका सञ्चालनमा ल्याइएको, उपल्लो मुस्ताङको प्रवेश अनुमति दस्तुर घटाइएको र पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुले प्रदेशको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाइएको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “राइड सेयरिङ नियमावली जारी गरी यातायात क्षेत्रमा पारदर्शिता कायम गरिएको छ ।”
त्यसै गरी स्वास्थ्य क्षेत्रमा १३ अस्पतालको स्तरोन्नति गर्दै बेड विस्तार, डायलासिस सेवा, हवाई उद्धार, क्यान्सर तथा विपन्न नागरिकलाई स्वास्थ्य सहायता प्रदान गरिएको बताउनुभयो । कृषि, पर्यटन, नवप्रवर्तन र सामाजिक न्यायका क्षेत्रमा विभिन्न कार्यक्रम प्रभावकारी रूपमा अघि बढिरहेको उहाँको दाबी छ । प्रदेश संरचना खर्चालु भयो भन्ने आरोप तथ्यहीन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले महालेखा नियन्त्रण कार्यालयको विवरण अनुसार कुल सार्वजनिक खर्चको ४.६९ प्रतिशत मात्र प्रदेश तहमा खर्च भएको तथ्य प्रस्तुत गर्नुभयो । कुल सार्वजनिक खर्चको पाँच प्रतिशत पनि प्रदेश तहमा खर्च नभएको अवस्थामा प्रदेश सरकारका मन्त्री वा सभा सदस्यले ‘खाए–सिध्याए’ भन्ने तथ्यहीन आरोपको कुनै तुक नभएको उहाँले दाबी गर्नुभयो ।