• २३ माघ २०८२, शुक्रबार

संवेदनशील मतदान स्थल अनुगमन

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलक्षित मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिएको छ  । 

गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान स्थलको निरीक्षण तथा अनुगमन गरिएको हो । 

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १४५ मतदान स्थलमध्ये ४८ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र ४० मतदान स्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

गैरेका अनुसार संवेदनशील स्थलमा सुरक्षालगायत अन्य हिसाबले पनि सबै प्रबन्ध मिलाइएको छ । शान्तिसुरक्षाका हिसाबले सबै प्रबन्ध मिलाएको र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासन सक्षम रहेको उहाँको दाबी छ ।

मतदान स्थललाई वर्गीकरण गर्दा भूगोल, यातायात, जिल्लागत सीमालगायतका विषयलाई आधार मानेर वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । 

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यसअघि अन्तरजिल्लास्तरीय सुरक्षा बैठक पनि सम्पन्न गरेकाले अन्तरजिल्लासँग पनि समन्वय भइरहेको गैरेले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान स्थल र २८४ वटा मतदान केन्द्र तोकिएको छ ।