• २३ माघ २०८२, शुक्रबार

किशोरीलाई क्यान्सरविरुद्धको खोप

blog

घोराही समाचारदाता

घोराही, माघ २३ गते । दाङमा यस वर्ष सात हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार गत वर्ष जिल्लामा पाठेघरको मुखको क्यान्सरविद्धको खोप अभियानका क्रममा छुटेका सात हजार ८२९ जना किशोरीलाई यो वर्ष खोप लगाउन थालिएको हो ।  

खोप लगाउनेमा विद्यालयमा अध्ययनरत सात हजार ६२७ जना र विद्यालयबाहिर रहेका २१० जना किशोरी रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख टिवी गुरुङले जानकारी दिनुभएको छ । गुरुङका अनुसार खोप लगाउने सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार ५३९ जना र विद्यालय नजाने ७८ जना गरेर दुई हजार ६१७ जना किशोरी रहेका छन् । 

त्यसै गरी तुलसीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत दुई हजार १२८ जना र विद्यालयबाहिर रहेका ४९ जना गरेर दुई हजार १७७ जना, लमही नगरपालिकामा विद्यालयमा अध्ययनरत ६१९ जना र विद्यालय नजाने १० जना गरेर ६२९ जनालाई खोप लगाइन थालिएको छ । त्यसै गरी राप्ती गाउँपालिकामा विद्यालयमा अध्ययनरत ५२८ जना र विद्यालयबाहिर रहेका १७ जना गरेर ५४५ जनालाई खोप लगाइने भएको छ । गढवा गाउँपालिकामा विद्यालयमा अध्ययनरत ४३१ जना र विद्यालयबाहिर रहेका छ जना गरेर जम्मा ४३७ जना, राजपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत २८१ जना र विद्यालयबाहिर रहेका २० जना गरेर ३०१ जनालाई खोप लगाउन थालिएको कार्यालय प्रमुख गुरुङले बताउनुभयो । 

त्यसै गरी बङ्गलाचुली गाउँपालिकामा विद्यालयमा अध्ययनरत २७६ जना र विद्यालयबाहिर रहेका १६ जना गरेर २९२ जना, दङ्गीशरण गाउँपालिकामा विद्यालयमा अध्ययनरत १८९ जना र विद्यालयबाहिर रहेका पाँच जना गरेर १९४ जनालाई खोप लगाइने भएको छ । 

त्यसै गरी बबई गाउँपालिकामा विद्यालयमा अध्ययनरत ३२२ जना र विद्यालयबाहिर रहेका चार जना गरेर ३२६ जना र शान्तिनगर गाउँपालिकामा विद्यालयमा अध्ययनरत ३१४ जना र विद्यालयबाहिर रहेका पाँच जना गरेर ३१९ जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउन थालिएको हो । 

गत वर्ष जिल्लामा खोप अभियानका क्रममा छुटेका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको कार्यालय प्रमुख गुरुङले बताउनुभयो । खोप लगाउनका लागि जिल्लामा विद्यालयमा २४९, स्वास्थ्य संस्थामा ४९ र अन्य स्थानमा पाँच वटा गरेर २९९ वटा खोप केन्द्र निर्धारण गरिएको छ ।  

खोप अभियान दाङमा पहिलो चरणमा माघ २५ देखि २७ गतेसम्म घोराही उपमहानगरपालिकासहित लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा माघ २८, २९ र फागुन १ गतेसम्म तुलसीपुर उपमहानगरपालिकासहित बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, 

दङ्गीशरण गाउँपालिका र बङ्गलाचुली गाउँपालिमा सञ्चालन हुने छ । अभियानका क्रममा छुटेका किशोरीलाई सम्बन्धित वडा  तहमा रहेका स्वास्थ्य संस्थामा फागुन ४ गतेसम्म चलाउन सक्ने व्यवस्था गरिएको छ ।