• २३ माघ २०८२, शुक्रबार

जगदीशपुर तालमा घट्दै चरा

blog

कपिलवस्तुको जगदीशपुर तालमा देखिएका चरा । तस्बिर : नारद कोहार

तौलिहवा समाचारदाता

तौलिहवा (कपिलवस्तु), माघ २३ गते । विश्व रामसार सूचीमा सूचीकृत जगदीशपुर तालमा विभिन्न मानवीय गतिविधिका कारण चरा घट्दै गएका छन् । चराको स्वर्गका रूपमा चिनिने तालमा मानवीय क्रियाकलाप बढेका कारण चराको सङ्ख्या निरन्तर घट्दै गएको हो ।

नेपाल पन्छीविद् सङ्घको आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म गरिएको चरा गणनाका क्रममा जगदीशपुरमा विगत आठ वर्षसम्म जगदीशपुरमा ५५ प्रतिशतले चराको सङ्ख्या घटेको पाइएको हो । सङ्घका अध्यक्ष हठन चौधरी, विपिन अधिकारी, दीक्षा ज्ञवाली, दुर्गादेवी चौधरीले तालमा चार दिनसम्म गरेको गणनाले एकै वर्षमा दुई हजार ५५० चराको सङ्ख्या घटेको देखिएको बताउनुभयो । 

सन् २०१८ मा २३ हजार चरा गणना गरिएकोमा २०२६ मा घटेर १० हजार २०४ चरा गणना गरिएको चराविद् चौधरीले बताउनुभयो । तालमा सन् २०२५ मा ४८ प्रजातिका १२ हजार ८३२ चरा गणना गरिएकामा २०२६ मा ४१ प्रजातिका १० हजार २०४ चरा गणना गरिएको उहाँको भनाइ छ । यस वर्ष मरुल चार हजार ८३, सुनजुरे हास तीन हजार ७४७ चरा फेला परेका हुन् ।

बेल्चा ठुटे र हरियो टाउकेबाहेक सबै प्रजातिका चराको सङ्ख्या घटेको छ । सन् २०२५ मा बेल्चा ठुडे ३३ वटा भेटिएकोमा सन् २०२६ मा ५३ तथा सन् २०२५ मा हरियो टाउके २९ वटा भेटिएकोमा सन् २०२६ मा ८३ वटा फेला परेको हो । तालमा भौतिक निर्माणसंगै डुङ्गा सञ्चालन गरिएको छ । त्यसको प्रत्यक्ष असर चरामा परेको चौधरीले बतानुभयो । 

अध्यक्ष चौधरीले मानवीय गतिविधि, चराको चोरीसिकारी, खेतबारीमा विषादीको प्रयोगका कारण चरा निरन्तर घट्दै गएको बताउनुभयो । तालमा डुङ्गा सञ्चालन, पिकनिक खानेको घुइँचोले ध्वनि प्रदूषण, नदीजन्य पदार्थको अनियन्त्रित ढुवानीलगायतले जलपन्छीको वासस्थानमा असर परिरहेको छ । 

जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले ताललाई केवल पन्छीको सङ्ख्यासँग जोड्न नहुने बताउनुभयो । उहाँले तालको दिगो विकास संरक्षणसहित पर्यटन र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो ।

यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको थियो । साइबेरिएन चरा खास गरी जाडो छल्न हिउँदयाममा नेपाल आउँछन् । १५७ हेक्टरमा फैलिएको कृत्रिम रूपमा बनेको मुलुकको सबैभन्दा ठुलो ताल हो ।