• २३ माघ २०८२, शुक्रबार

सर्लाही–३ मा चारपक्षीय प्रतिस्पर्धा

blog

जनार्जन खत्री 

सर्लाही, माघ २३ गते  । मुलुकका शीर्षस्थ नेताहरू मैदानमा होमिएको सर्लाहीमा यस पटक प्रत्येक निर्वाचन क्षेत्रको मतपरिणामबारे निकै चासो व्यक्त भइरहेको छ । 

गोरखा छाडेर सर्लाही क्षेत्र नं. ३ मा आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका नेता फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ श्रेष्ठसँग पूर्वरक्षामन्त्री एवं नेकपा (एमाले) का तर्फबाट निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका पुराना नेता विनोदकुमार खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवारलगायत ३४ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही–३ बाट एमालेका हरिप्रसाद उप्रेती ३२ हजार ९३८ मतसहित निर्वाचित हुनुभएको थियो । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र) मा रहेका (हाल रास्वपाका उम्मेदवार) नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत प्राप्त गर्नुभएको थियो । तीन वर्षअघि माओवादीबाट चुनाव लड्दा ७७० मतले पराजित भएका कलवार यो पटक रास्वपाबाट टिकट लिएर प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही–३ बाट तत्कालीन माओवादी केन्द्रका रामेश्वर राय यादव २२ हजार ३६७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरेशप्रसाद महतोले १४ हजार ९२९ मत प्राप्त गर्नुभएको थियो । अहिले रास्वपाबाट उम्मेदवार रहेका नरेन्द्र साह कलवारले २०७४ मा सर्लाही–३ बाट स्वतन्त्र उम्मेदवारी दिँदा पनि १२ हजार ८६ मत प्राप्त गर्नुभएको थियो । २०७४ मा यस क्षेत्रबाट निर्वाचित रामेश्वर राय यादव भने यो पटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले टिकट नै नदिएपछि पार्टी परित्याग गर्नुभएको छ । 

पार्टीले नेता नारायणकाजी श्रेष्ठलाई टिकट दिएर सर्लाही ल्याएपछि यादव भने जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेर सर्लाही–४ मा गएर नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहलगायतसँग प्रतिस्पर्धामा उत्रनुभएको छ । पहाडिया र मधेशी समुदायको मिश्रित बसोबास रहेको सर्लाही–३ मा यो पटक नेकपा, कांग्रेस, रास्वपा र एमालेबिच चारपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ । 

गोरखा छाडेर सर्लाही आएका नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठले आफू लामो समयदेखि यहाँका मिटरब्याजपीडित, उखु किसानलगायतका पक्षमा लागेकाले आफूलाई मतदाताले पत्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “म गृहमन्त्री हुँदा मिटरब्याजी साहु (सुदखोर) को विरुद्धमा र पीडितको पक्षमा कडा रूपमा लागेकाले यहाँका नागरिकले मलाई आफ्नो प्रतिनिधि हुन बोलाएकाले गोरखा छाडेर सर्लाही आएको हुँ ।” अघिल्लो पटक झिनो मतान्तरले पराजित भएका रास्वपाका उम्मेदवार कलवारले पनि सर्लाही–३ मा आफूले प्रतिनिधि नहुँदा नै समाजसेवा गरेकाले मतदाताले पत्याउने बताउनुभयो । यसअघि थोरै मतले पराजित भए पनि यो पटक आफूले अवसर पाउने दाबी कलवारले गर्नुभएको छ । निवर्तमान प्रतिनिधि सभा सदस्य एवं एमालेका उम्मेदवार उप्रेतीले मतदाताले बाहिरी र धनीलाई भन्दा पनि दुःखमा सेवा गर्ने प्रतिनिधि छान्ने विश्वास व्यक्त गर्नुभयो । आफूले तीन वर्षसम्म प्रतिनिधि हुँदा सर्लाही–३ को विकासका लागि गरेको पहल र भएका विकास नै पुनः निर्वाचित गराउन पर्याप्त आधार रहेको उहाँको दाबी छ । 

नेपाली कांग्रेसका उम्मेदवार खनालले आफू कुनै पदमा नहुँदा पनि बर्सौंसम्म सर्लाही–३ मा पुल निर्माण, विद्युतीकरण, सिँचाइलगायत क्षेत्रमा गरेको काम देखेर मतदाताले पत्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “तीन दशकको राजनीतिक यात्रामा म कुनै पनि पदमा नरहँदा र प्रतिनिधि नहुँदा पनि पुल, बाटोघाटो, बिजुली र सिँचाइका लागि पहल गरेको छु । मेरो मेहनत र मैले राजनीतिक जीवनमा गरेको सेवा देखेर मलाई यो पटक निर्वाचित गराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

बागमती नगरपालिका पूरै (१–१२), हरिवन नगरपालिका पूरै (१­–११), चव्रmघट्टा गाउँपालिका पूरै (१–९), बरहथवा नगरपालिका–५, ६, ७, ८, ९, १०, ११, १२, १६, १७ र १८, हरिपुर नगरपालिका–१, कविलासी नगरपालिका–३, ४, ५ र ६ तथा बसबरिया गाउँपालिका–४, ५ र ६ गरी कुल ५१ वटा वडा रहेको सर्लाही–३ मा एक लाख ३४ हजार ४१२ मतदाता कायम भएका छन् ।