• २३ माघ २०८२, शुक्रबार

झापा–४ : निर्वाचनमा पुरानै प्रतिस्पर्धी

blog

विष्णुप्रसाद पोखरेल

दमक, माघ २३ गते  । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं. ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै छ । यहाँ लगातार दुई पटक निर्वाचन जित्नुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा र दुई पटक नै साँवासँग पराजय बेहोर्नु भएका नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेको प्रतिस्पर्धालाई रोचक हुने आकलन मतदाताले गरेका छन् । साँवा ह्याट्रिक गर्ने दाउमा हुुनुहुन्छ भने थेवे यस पटक चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त हुनुहुन्छ । 

 तर यस पटक उहाँहरूलाई अन्य राजनीतिक दलका उम्मेदवारले पनि उत्तिकै चुनौती भने थपेका छन् । अघिल्लो पटक मतका आधारमा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पनि यो पटक चुनावी मैदानमा रहनुभएको छ । तीन जना उम्मेदवार अघिल्लो निर्वाचनमा सँगै लडेको र अहिले पनि सँगै भएकाले यसलाई स्थानीय मतदाताले पनि रोचक मानेका छन् । 

नेपाली कम्युनिस्ट पार्टी नेकपाले युवानेता पुरुषोत्तम चुँडाललाई उम्मेदवार बनाएको छ । प्रदेश सभा सदस्य तथा प्रदेशका मन्त्रीसमेत भइसक्नुभएका भक्तिप्रसाद सिटौला राप्रपाबाट उम्मेदवार हुनुहुन्छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरेर १६ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

 एमालेका उम्मेदवार साँवाले अधुरा विकास निर्माणका काम पूरा गर्न र आफूले  विगतमा गरेका कामका आधार यस पटक पनि विजयी हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले अघिल्लो निर्वाचनमा २९ हजार ३१५ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै कांग्रेसका उम्मेदवार थेवेले स्थानीय विकास र निर्वाचन क्षेत्रमा रहेका समस्या समाधान आफूले गर्ने र कृषि, शिक्षा, स्वास्थ्य र पूर्वधारलगायतका क्षेत्रका विशेष जोड दिने योजना सुनाउँदै मत मागिरहनुभएको छ ।  उहाँले २२ हजार ४४८ मत पाउनुभएको थियो ।

जनता परिवर्तनको पक्षमा रहेकाले आफू यो निर्वाचनमा जित हासिल गर्ने रास्वपाका उम्मेदवार ढकालले बताउनुहुन्छ । उहाँले अघिल्लो निर्वाचनमा पनि मतदाताको मन जितेको यस पटक विजयी नै हुने गरी मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले १४ हजार ४९ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रमा एक लाख ३० हजार ७१२ मतदाता रहेका छन् ।