• २३ माघ २०८२, शुक्रबार

इतिहास र भविष्यको प्रश्न

blog

त्यो बेला नेपालमा पञ्चायती निरङ्कुशताविरुद्धको क्रान्ति चरम उत्कर्षमा पुगिसकेको थियो । चारैतिरबाट घेरिएको पञ्चायत छटपटाइरहेका बेला त्यो बेला ‘युवा’ हरू अझ जोसिलो भएर क्रान्तिमा होमिएको अवस्था थियो । त्यो समयमा प्रजातन्त्रका नायक बिपी कोइरालाले ‘तरुण’ हरूलाई एउटा पत्र लेख्नुभएको थियो ।

त्योमध्येको एक पत्रांश हो यो– ‘युवकहरू समस्याको भयावहताभन्दा निदानपपट्टि सोचून् कि तिनको जवाफदेही छ, प्रजातन्त्रप्रति पनि– अहिले त प्रजातन्त्रको जवाफदेही मैले बोकेको छु भनेर नवयुवक कसैले पनि त्यो जवाफदेही बोकेका छैनन् । उनीहरू भन्छन्– हामीसित त केवल जोस मात्र छ, जवाफदेही वहन गरिरहनुपर्ने आवश्यकता नै परेको छैन र हामीले सोच्नु पनि परेको छैन । उनीहरू किन सोच्दैनन् ? बुढाबुढीहरूले अरू नसोचे पनि हुन्छ तर युवाहरूले त झन् सोच्नु पर्छ । अब जुवा हाम्रै काँधमा पर्न आएको छ भन्ने बुझ्नेबित्तिकै उनीहरू सबै कुरा बुझ्न थाल्ने छन् । यस्तो सोचाइ र जवाफदेहीप्रतिको चेतनाले युवकलाई उग्रवादको आकर्षणबाट वास्तविक धरातलमा ओरालिदिन्छ । मलाई बारबार मानिसहरू भन्छन्, “तपाईंका युवाहरू बुझ्दै बुझ्दैनन् । नबुझी, नसोची उनीहरू के काम गर्न सक्छन्  ? म चाहन्छु– उनीहरू सोचून्, बुझून् र काम गरून् । म भन्छु– उनीहरू आफ्नो मनोभावना बदलून्, जिम्मेवारीको भावना बढाऊन् र चुनौती सामना गर्न बढी समर्थ होऊन् ।”

आजको नवपुस्ता भन्नेहरूले यहीँनेर बुझ्नुपर्ने अर्को कुरा के हो भने ‘हरेक मान्छे कुनै न कुनै प्रकारले प्रतिभाशाली हुन्छन् । जब एउटा माछालाई रुख चढ्न सक्ने क्षमताका आधारमा मूल्याङ्कन गरिन्छ । उसले सम्पूर्ण जीवन त्यही मूर्ख अहम्तामै बिताउँछ’ महान दार्शनिक तथा वैज्ञानिक अल्वर्ट आइन्टाइनले भनेका यी कुराहरूले प्रस्ट पार्छन्, हामी हाम्रो अभीष्टलाई कसरी मूल्याङ्कन गरिरहेका छौँ ? जस्तो आजको नेपाली राजनीतिक सामाजिक अवस्थाबाट गुज्रिरहेको छ । 

सत्ताकै लागि राजनीति, सत्ताकै लागि मात्रै चुनाव भन्ने खालको राजनीतिको एउटा सनातन भाष्यलाई गत भदौ २३ र २४ को जेनजी विद्रोहले बदलिदिएको छ । त्यसैले आज नेपालको राजनीति केवल सत्ता परिवर्तनको सवालमा मात्रै सीमित छैन । त्यसका दायरा फराकिला भएका छन् । त्यसका स्थापित मूल्य र मान्यता एक पटक भत्किएर फेरि पनि नवप्रवर्तनको एउटा बाटोमा अघि बढिरहेका छन् । देशमा स्थापित सामाजिक संरचना, पुस्तागत सोच अनि चेतना र लोकतन्त्र र राष्ट्रियताको भविष्यसँग अब र यतिबेलाको राजनीतिक विषय गाँसिएको छ । जसरी एउटा उत्साह, आशा र परिवर्तनको उत्कट चाहना बोकेर नवपुस्ता उदाइरहेको छ, त्यसले हाम्रो राजनीतिक र सामाजिक सोचमा फेरिदिएको मात्रै छैन बरु त्यसको भाष्यलाई नै फरक दिशामा धकेलिदिएको छ । यस्तो परिस्थितिमा अब लगभग चार सातापछि हुन लागेको आमनिर्वाचन मात्रै नियमित चुनावी प्रक्रिया होइन बरु यो त जीवन्त लोकतन्त्रको एक परीक्षा पनि हो । त्यसका करोडौँ साधकको आकस्मिक एक परीक्षा पनि हो । अनि नयाँ र पुराना सोचबिच नेपालमा फराकिलो भइरहेको त्यो ठुलो खाडललाई पुर्ने एउटा उपयुक्त अवसर पनि हो । 

नेपालमा अहिले हामीले उपभोग गरिरहेको लोकतन्त्र, यो शासन पद्धति यो राज्यको शासकीय स्वरूप अर्थात् जे जस्तो राज्य हामीले पाएका छौँ त्यो हाम्रै अघिल्ला पुस्ताले पटक पटक लडेर, रगत बगाएर प्राप्त गरेको उपलब्धि हो । अर्थात् आजको पुस्ताले भन्ने पुरानो पुस्ताले गरेको आन्दोलनको उपज पनि हो । एक सय चारबर्से जहानियाँ राणा शासनविरुद्धको क्रान्तिदेखि पञ्चायतसँगको ३०बर्से सङ्घर्ष अनि माओवादीको सशस्त्र युद्ध हुँदै २४० बर्से शाही वंशको अन्त्य हुँदै मधेब आन्दोलनका स्मृतिहरूमा हाम्रा उनै पुस्ताहरूको योगदान रक्तरञ्जित छ । त्यसैको अर्को उपज हो गत भदौ २३ र २४ को जेनजी विद्रोह, जसलाई यो देशले फेरि परिवर्तनको अर्को हुरीका रूपमा स्वीकार गरिसकेको अवस्था छ । योबाहेक आजको नयाँपुस्ता ती सबै राजनीतिक क्रान्ति र आन्दोलनका साक्षी थिएनन् । यो पुस्ता भनेको त्यसकै उपलब्धिहरूको नवउपभोक्ता मात्रै हो । 

कैयौँ पुस्ताको त्याग र बलिदानबाट प्राप्त गणतन्त्र भनेको आजको यो नवपुस्ताका लागि कुनै उपलब्धि नै होइन बरु उनीहरूका गणतन्त्रको यो अवस्था एउटा सामान्य व्यवस्था मात्रै हो । त्यसैले उनीहरूले सधैँभरि सोधिरहने एउटा प्रश्न हो– यो गणतन्त्रले के दियो ? प्रश्नहरूको तिनै हुरी अन्ततः भदौ २३ र २४ को विद्रोह अनि विध्वंसमा विम्बित भएको सत्य हो । यद्यपि त्यसका तथ्य इतिहाससँगै खुल्दै जालान् । यद्यपि नेपालमा यो पुस्तागत दुरी र विश्वासको खाडल पहिलादेखि नै गहिरिँदै आएको हो । घर घरमा होस् वा समाज अनि राजनीतिक नेतृत्व र शासकीय तहमा समेत । खासमा कुरा कहाँनेर बिग्रियो भने पुरानो भनिएको पुस्ताले सधैँ इतिहासका उही आधा अधुरा किस्सा मात्रै फलाकिरह्यो । नयाँपुस्ताले भविष्यका पेचिला प्रश्न बर्साइरह्यो । पुरानोपुस्ताले भावनाको विनिमय गर्न खोजिरह्यो तर नयाँपुस्ताले तथ्य खोज्न थाल्यो । जसले नेपालको राजनीतिक अनि सामाजिक परिस्थितिलाई अहिले एउटा नयाँ मोडमा उभ्याइदिएको छ । 

परिस्थिति फेरिएका छन् । चोक, सभा अनि संसद्मा सीमित राजनीतिक बहस अहिले मोबाइल र कम्प्युटरको स्क्रिनहरूमा बाक्लिन थालेको छ । सामाजिक सञ्जालका हरेक प्लेटफर्मले अहिले प्रश्न मात्रै होइन स्वीकारोक्ति र अस्वीकरणको एउटा गम्भीर मोड नै खडा गरिएको छ । प्रविधिको यही भर्चुअल दुनियाँमा जन्मेको अनि हुर्किएको आजको पुस्ताले आफ्नो एउटै पोस्टमा करोडौँ मान्छेको ध्यान तान्न सक्छ अनि नेतृत्वसम्म आफ्नो आवाज वा प्रश्नहरू पु¥याउन सक्छ । तथापि हरेक विद्रोह अनि परिवर्तन मात्रै लोकतन्त्र वा अरू उपलब्धिका लागि खतरा होइनन् । बरु ती परिवर्तनका सङ्केत पनि हुन सक्छन् । परिवर्तनको यो चेतना र सङ्केतलाई नेतृत्वले बुझ्न नसक्दा वा त्यसको सुनुवाइ नहुँदा त्यो सङ्केत बिस्तारै आक्रोशमा परिणत हुन्छ र त्यो अन्ततः विद्रोह बनेर विस्फोट हुन्छ । भदौ २३ र २४ मा भएको त्यही विस्फोटले देशको राजनीतिक अनि सामाजिक परिस्थितिलाई जसरी बिथोलोदियो त्यसलाई सोच्ने तरिका पनि उत्तिकै रूपमा फेरिदिएको छ । 

फागुन २१ मा हुने आम निर्वाचनलाई हेर्ने र विश्लेषण गर्ने तरिका पनि फेरिएको छ । यो आजको नवपुस्ताले यो निर्वाचनलाई पर्व नभएर एउटा परीक्षाका दृष्टिले हेरिरहेको छ । जसरी आमपुरातनी राजनीतिक दलहरूले त्यसलाई लोकतन्त्रको एउटा खोक्रो उत्सवका रूपमा लिन्छन् । जसरी आजको पुस्ताले दलहरूलाई सोधिरहेका छन्, यसअघि चुनिएर गएपछि उनीहरूले के के काम गरे ? कस्तो घोषणापत्र ल्याएका थिए अनि त्यस अनुसार के के गरे ? त्यो घोषणापत्रले आमनागरिकको जीवनसँग कत्तिको जोडिएको छ अर्थात् त्यसले मात्रै राजनीतिका ठुला ठुला सपना मात्रै होइन वास्तविक दैनिक जीवनका दुःख सुख बोकेको छ कि छैन ? हरेक पाँच वर्षमा दोहोरिने यी प्रश्नहरूलाई आजको पुस्ताले मोबाइलमै सोध्न सक्छ । प्रविधिले अब त्यो पर्वलाई यसरी पनि एउटा परीक्षाका रूपमा बदलिदिएको छ । 

भोट हालेर मात्रै के हुन्छ ? भनेर सोधिरहेको यो पुस्तालाई अझै पनि राजनीतिक दलले चाहिएको जवाफ दिन सकिरहेका छैनन् । यसपालि पनि हे¥यौँ भने कतिपय उही पुरानै अनुहार छन् । उही शैली छन् । उनै वाचा छन् । जसले गर्दा फेरि पनि भोटको अर्थ के ? भोट हालेर के बदलिन्छ ? भन्ने प्रश्नात्मक भाष्य मौलाउँदै छन् । त्यो भनेको लोकतन्त्रमा सबैभन्दा खतरनाक सङ्केत हो । दलहरू अनि फेरि पनि राजनीतिमा पाइला अघि बढाइरहेकाहरूले बुझ्नैपर्ने कुरा के हो भने ‍चुनावले मात्रै लोकतन्त्रको प्राण भर्दैन । त्यसले मात्रै लोकतन्त्र टिक्न सक्दैन । लोकतन्त्र भनेको विश्वासले टिक्ने हो । देशमा भइरहेका विभिन्न भ्रष्टाचार र अनियमितताका काण्ड, राजनीतिक अस्थिरता, सत्ताको फोहोरी खेल, सेवा प्रवाहको लापर्बाही र कर्मचारीमा मौलाएको हेपाहा प्रवृत्ति इत्यादिले लोकतन्त्र वा भनौँ कुनै पनि व्यवस्थाप्रतिको विश्वसनीयतालाई दाउमा लगाइरहेका छन् । 

पुस्ता पुस्ताबिच चर्किएको यो द्वन्द्व अनि फराकिलो हुँदै गएको यो खाडललाई पुर्न पनि आगामी फागुन २१ को चुनाव अझ महत्वपूर्ण र अपरिहार्य छ । त्यसले मात्रै एउटा पुस्ताको इगोलाई स्थापित वा अर्कोलाई विस्थापित गर्ने होइन बरु त्यसलाई समालेर फागुन २१ ले नयाँ नेपालको नयाँ भविष्य रेखा तय गर्ने छ ।