टोकियो, माघ २२ गते । अमेरिका-रुसबिचको अन्तिम हातहतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ समाप्त भएपछि जापानका आणविक बम पीडितले विश्व आणविक युद्धतर्फ उन्मुख भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । क्यालेन्डरको मोडसँगै ५ फेब्रुअरीदेखि लागु हुने गरी न्यु स्टार्ट सन्धि अन्त्य भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रस्ताव गर्नु भएको एक वर्षका लागि आणविक वारहेड सीमा विस्तार गर्ने प्रस्तावमा पछ्याउने कदम नचालेपछि सन्धि स्वतः समाप्त भएको हो । सन् १९४५ मा अमेरिकाले हिरोशिमा र नागासाकीमा खसालेका आणविक बमबाट बाँचेकाको संस्था निहोन हिदान्क्योका सह–अध्यक्ष तेरुमी तानाकाले विश्व समुदायले यस विषयको गम्भीरतालाई समयमै बुझ्न नसकेको बताउनुभयो ।
कट्टर अहिंसावादी आम नागरिकबाट सुरु भएको अभियान समूह निहोन हिदान्क्योले सन् २०२४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेको थियो । हालको अवस्थालाई हेर्दा आणविक युद्ध टाढाको भविष्यको कुरा नभई नजिकैको यथार्थ बन्न सक्ने डर आफूलाई लागेको तानाकाले जापानी अभियानकर्तासँग आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँका अनुसार संसार विनाशको दिशातर्फ अघि बढिरहेको सङ्केत स्पष्ट देखिन थालेका छन् । त्रियानब्बे वर्षीय तानाकाले आणविक हतियार भएका देशका नागरिकले आफ्नै देशका हतियारबारे गहिरो रूपमा नसोच्ने खतरा रहेको उल्लेख गर्नुभयो । कतिपयले यस्ता हतियारलाई आफ्नो देश महान् शक्ति भएको प्रमाणका रूपमा बुझ्न सक्ने र त्यो सोच अत्यन्तै ठुलो गल्ती हुने उहाँले चेतावनी दिनुभयो ।
अमेरिकाले सन् १९४५ को अगस्टमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेको थियो । तानाका नागासाकीमा बसोवास गर्दै आउनुभएको थियो । त्यसको केही समयपछि जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । हिरोशिमामा करिब एक लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो । तीमध्ये धेरैले विकिरणको दीर्घकालीन असरका कारण ज्यान गुमाएका थिए । युद्धमा आणविक हतियार प्रयोग भएको यो अहिलेसम्मकै एक मात्र घटना हो ।
विश्वभरका अभियानकर्ताले न्यु स्टार्ट सन्धि समाप्त भएपछि विश्वका प्रमुख आणविक शक्तिबिच नयाँ हातहतियार दौड सुरु हुन सक्ने र यसले चीनलाई पनि आफ्नो आणविक भण्डार विस्तार गर्न प्रेरित गर्ने चेतावनी दिँदै आएका छन् । वासिङ्टनले नयाँ किसिमको सम्झौतामा चीनलाई पनि समेटिनुपर्ने धारणा सार्वजनिक गरेको छ । तर अभियानकर्ताले जापानले पूर्वी एसियामा हातहतियार नियन्त्रण प्रवर्धन गर्न वा चीनलाई यस्ता प्रयासमा सहभागी गराउन प्रभावकारी पहल गर्न नसकेको आरोप लगाएका छन् ।
जापान क्याम्पेन टु एबोलिस न्युक्लियर वेपन्सका अभियानकर्मी हिदेओ आसानोले चीनसँग संवाद सुरु गर्ने विषयमा कुनै ठोस प्रयास नै नभएको आफूलाई लागेको बताउनुभयो । जापानी सरकारले भने आणविक हतियार नियन्त्रणका लागि संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य जारी राख्ने जनाएको छ । उप-मुख्य क्याबिनेट सचिव केई सातोले पत्रकार सम्मेलनमा जापानले अमेरिका, रुस र चीनसहित सम्बन्धित सबै राष्ट्रलाई समेटेर हातहतियार नियन्त्रण र निरस्त्रीकरणका प्रयास अघि बढाउनु महत्त्वपूर्ण ठानेको स्पष्ट पार्नुभयो । रासस/एएफपी