नैरोबी, माघ २२ गते । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ)ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसलाई स्वास्थ्य सेवा दिइरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ ।
“आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामाग्री गुमाएको एमएसएफले बताएको छ । दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र सशस्त्र दल भएको सङ्गठनले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण सुडानमा महिनौँदेखि चलिरहेको द्वन्द्वले देशमा गृहयुद्धको पुनरुत्थानको डर बढाएको छ । इथियोपियाको सिमानामा देशको पूर्वमा अवस्थित जोङ्लेईमा टुलो लडाइँ भएको छ, जहाँ सरकारी फौजले सुडान पिपुल्स लिबरेसन आर्मीका वफादार लडाकुको आक्रमण रोक्न खोजिरहेका छन् ।
लन्किएनको अस्पतालमा भएको हवाई आक्रमणमा यसका एक जना स्टापलाई सामान्य चोट लागेको सङ्गठनले बताएको छ । सम्भावित आक्रमणको सूचना पाएपछि केही घण्टा अघि नै अस्पताल खाली गरी बिरामीलाई डिस्चार्ज गरिएको जनाइएको छ ।
गत महिना दक्षिण सुडानको सेनाले संयुक्त राष्ट्रसङ्घीय मिसन र परोपकारी संस्थाका नागरिक र कर्मचारीलाई विपक्षी शक्ति विरुद्धको कारबाही अघि जोङ्लेई राज्यका तिन वटा काउन्टी खाली गर्न आदेश दिएको थियो । हालैको लडाइँका कारण जोङ्लेईमा कम्तीमा एक लाख ८० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मिसनले जनाएको छ । सन् २०१३/२०१८ मा दक्षिण सुडानमा भएको गृहयुद्धमा करिब ४ लाख मानिसको ज्यान गएको थियो । रासस/क्यूएनए