• ८ चैत २०८२, आइतबार

'नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो'

blog

कार्यक्रममा सहभागी गृहमन्त्री ओमप्रकाश अर्याललगायत। तस्बिरः कविता थापा ।

काठमाडौँ, माघ २२ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ। 

बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उहाँले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँ बस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताउनुभएको हो। 

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थामा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ। 

हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उहाँले बताउनुभयो।

नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। 

सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उहाँको भनाइ छ। 


गृहमन्त्री अर्यालले आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रतिस्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ। 

कम्पनीको बृहत् सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न उहाँले आग्रह गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होइन, यो राज्यको डिजिटल मेरुदण्ड हो। दुर्गम हिमालदेखि तराईका गाउँ बस्तीसम्म सञ्चारको पहुँच पुर्‍याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ।


प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालीन अवस्थामा नेपाल टेलिकमले खेलेको भुमिका स्मरणीय र प्रशंसनीय रहेको छ।’ 

उहाँका अनुसार टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ।

सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले नागरिक र सरकार सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। 

समारोहमा  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने बताउनुभएको छ । 

उहाँले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पार्नुभयो । सचिव बस्नेतले भन्नुभयो,“नेपाल टेलिकमले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ र सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछ ।” 

सचिव बस्नेतले डिजिटल समावेशिता विस्तार गर्दै सबै नागरिकलाई समान सञ्चार सेवाको पहुँच सुनिश्चित गर्न नेपाल टेलिकमले निरन्तर पहल गरिरहेको पनि बताउनुभयो । 

समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीले कम्पनीले फोरजी-एलटीई सेवाको जडान, विस्तार, स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै हाल सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीव तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिनुभयो । 

“हालसम्म टुजी, थ्रीजी र फोरजी प्रविधिमा आधारित मोबाइल सेवाका बिटीएसमार्फत देशभरका विभिन्न ४,७८८ स्थानमा मोबाइल सेवा उपलब्ध गराएको छ । 

अब थप चार स्थानीय तह हुम्लाको ताँजाकोट र अदानचुली, मुगुको सोरु तथा कार्मारोकक्या फोरजी सेवा सञ्चालनमा ल्याउन बाँकी रहेको छ,” उहाँले भन्नुभयो, “हाल सञ्चालनमा रहेको फोरजी कोर सिस्टमलाई स्तरोन्नती गरी फाइभजी सेवाको सुरुआत गर्नको लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई पुनराबलोकनका चरणमा रहेको छ ।” 

टेलिकमका अनुसार गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ क्षमता रहेको एफटिटीएच नेटवर्क हाल २२ लाख ६५ हजार पुगेको छ ।