• २२ माघ २०८२, बिहिबार

सुर्तीजन्य पदार्थ ऐन २०६८ पालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

blog

काठमाडौँ, माघ २२ गते । सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरू पूर्णरूपमा पालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ  ऐन २०६८ का प्रावधानहरू पूर्णरूपमा पालन गर्न आग्रह गरेको हो।

कानुनले अन्य व्यक्तिलाई असर पर्ने गरी धूम्रपान गर्न निषेध गरेको छ । उक्त ऐन पूर्णरूपमा पालन नगरेमा सजाय र जरिवाना हुने मन्त्रालयले चेतावनी दिएको छ ।

सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा एक सय रुपियाँ जरिवाना वा हाताबाट निष्कासन वा दुवैको सजाय र जरिवानाको व्यवस्था गरिएको छ ।

कुनै पनि सञ्चार माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइँदैन तर, यदि गरेमा एक लाख रुपियाँसम्म जरिवाना तोकेको छ । 

१८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न, गराउन वा नि शुल्क उपलब्ध गराएमा १० हजार रुपियाँसम्म जरिवानाको सजाय तोकेको छ ।

सुर्तीजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्नेलाई १० हजार रुपियाँसम्मको जरिवाना हुने व्यवस्था गरेको छ । फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्ने र निःशुल्क सुर्तीजन्य पदार्थ वितरण गर्ने वा उपहार दिएमा १० हजार रुपियाँसम्मको जरिवाना तोकेको छ । 

कार्यालय र सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्छ । यदि नगरेमा पाँच हजारसम्मको सजाय र जरिवानाको व्यवस्था गरेको छ ।

 त्यस्तै, सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ । यदि नगरेमा १० हजार रुपियाँसम्मको जरिवानाको व्यवस्था गरेको सूचनामा उल्लेख छ ।