नवराज नेपाली
बागलुङ (गलकोट), माघ २२ गते । बागलुङमा निर्वाचन आचारसंहिता २०८२ सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरिएको छ । निर्वाचन कार्यालय बागलुङको आयोजनामा अन्तर्क्रिया कार्यक्रम गरिएको हो ।
अन्तर्क्रियामा बोल्दै मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले आचार संहितालाई कार्यान्वयन गर्ने सबैको दायित्व हुने बताउनुभयो ।
‘दल, उम्मेदवार, मतदाता, नागरिक, सञ्चारकर्मी सबैले निर्वाचन आचार संहिता कार्यान्वयन गर्नुपर्छ ।’ उहाँले भन्नुभयो, ‘निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने सबैले आचारसंहिता पालना गर्नुपर्छ ।’
उहाँले सञ्चारकर्मी सहित सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचन आचारसंहिता उल्लङ्घन गरे जवाफदेही गराउने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज रिजालले निर्वाचन आचारसंहिता उल्लङ्घनबारे एउटा उजुरी परेको र त्यो पनि सम्बोधन गरिएको बताउनुभयो । उहाँले लिखित र मौखिक कुनै पनि रूपमा आचार संहिता उल्लङ्घनका घटनाबारे उजुरी नपरेको बताउनुभयो ।
सञ्चारकर्मीहरूले स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले निर्वाचन आचार संहिताको उल्लङ्घन गरी सवारी साधन प्रयोग गर्ने गरेको, आमसभा गरिएको लगायतका विषयमा प्रश्न उठाएका थिए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आचारसंहिता २०८२ बारे जानकारी गराउनुभएको थियोे ।