हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ २२ गते । मुस्ताङमा मादक पदार्थ सेवन (मापसे) गर्ने चार जना निर्वाचन प्रहरीलाई बर्खास्त गरिएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रशिक्षणमा रहेका निर्वाचन प्रहरीले मापसे गरेको भेटिएपछि जिम्मेवारीबाट हटाएर बैकल्पिकलाई अवसर दिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
निर्वाचन प्रहरी प्रविण बस्याल, पवन खड्का, सन्जीवन बरुवाल र सौविर दमाईको नियुक्ती रद्ध गरिएको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो। एक निर्वाचन प्रहरीको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको सल्लाह अनुसार हटाइएको सुचना अधिकारी बस्यालको भनाइ छ ।
बस्यालले भन्नुभयो,‘‘गलत आचार देखाएमा तत्कालै हटाएर वैकल्पिकलाई अवसर दिन्छौं, अनुशासन र जिम्मेवारी बोध गर्न निर्देशन दिइएको छ।’’ निर्वाचन प्रहरी भर्ना छनाेट, नियुक्ती तथा परिचालन सम्बन्धि एकिकृत कार्यविधिमा तोकिएको नियम पालनाका लागि अनुगमन समेत भइरहेको छ। नेपाल प्रहरीतर्फ २ सय ६६ जना र शसस्त्र प्रहरी बलमा ४६ जना भर्ना गरी प्रशिक्षण भइरहेको छ । मुस्ताङमा हाल थप १० जना वैकल्पिक उम्मेदवार समेत छन् । पहिलोपटक मुस्ताङमा निर्वाचनलाई आवश्यक पर्ने जनशक्ती व्यवस्थापन भएको छ ।
यसअघिका निर्वाचनमा छिमेकी जिल्ला म्याग्दीबाट वैकल्पिक उम्मेदवारलाई लगेर परिचालन गर्नुपर्ने बाध्यता थियो ।निर्वाचनमा ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपियाँ तलब सुविधा, यातायात तथा खानाखाजा, दुर्घटना बिमा सहित भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइन्छ भने मुस्ताङमा स्थानीय भत्ताको समेत सुविधा रहेको छ।
मुस्ताङ जिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ ।