• २२ माघ २०८२, बिहिबार

तातोपानी नाका : फेरिए जनप्रतिनिधि, समस्या उस्तै

blog

नेपाल–चीन सीमानाका तातोपानी क्षेत्र । तस्बिर : विदुर आचार्य

विदुर आचार्य
चौतारा, माघ २२ गते ।
नेपाल–चीन व्यापारको ऐतिहासिक तथा प्रमुख स्थलमार्ग तातोपानी नाकाको दीर्घकालीन र नियमित सञ्चालन प्रतिनिधिसभा निर्वाचन २०८२ का उम्मेदवारहरूको प्रमुख एजेन्डा बनेको छ । पटक–पटक अवरुद्ध हुँदै आएको यो नाकाको व्यवस्थापन, पूर्वाधार सुधार र सहज सञ्चालनका विषयमा सबै दलका उम्मेदवारहरूले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । गत आर्थिक वर्षमा मात्रै तीन महिना बन्द भएको तातोपानी नाका चालु आर्थिक वर्षमा दशैंपछि मात्र पूर्ण रूपमा सञ्चालनमा आएको थियो ।  जीर्ण सडक, बाढी–पहिरो, कमजोर पुल र कूटनीतिक पहलको अभावका कारण यो नाका भरपर्दो बन्न नसकेको स्थानीय र व्यवसायीहरूको गुनासो रहँदै आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरतप्रसाद पराजुलीले तातोपानी नाकालाई सिन्धुपाल्चोकको ‘लाइफलाइन’का रूपमा विकास गर्ने घोषणासहित आफ्नो चुनावी अभियान नाकाबाटै सुरु गर्नुभएको छ ।  ‘‘यो नाका व्यवसायी मात्र होइन, यहाँका नागरिकको जीवनसँग जोडिएको विषय हो । यसको पूर्ण र नियमित सञ्चालन हाम्रो प्राथमिकता हो,’’ उहाँले भन्नुभएको छ ।

नेकपा एमालेका उम्मेदवार सरेश नेपालले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी र स्थानीय नागरिकले भोग्दै आएको समस्या आफूले नजिकबाट बुझेको बताउनुहुन्छ । पहिलो प्रदेशसभा निर्वाचनमा प्रदेशसभा सदस्य रहँदा पहल गरे पनि नाका र राजमार्ग सङ्घीय सरकारको मातहतमा रहेकाले अपेक्षित सफलता नपाएको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा व्यवस्थित नाका सञ्चालन नै आफ्नो मूल मुद्दा हुने बताउनुभयो ।

यसअघि गठबन्धनबाट निर्वाचित सांसद माधव सापकोटाले आफ्नो कार्यकालमा तातोपानी नाका सञ्चालनका लागि निरन्तर प्रयास गरेको दाबी गर्नुभयो । संसदमा रहँदा पनि नाकाको विषय उठाएँ, अब पनि यो मुद्दामा काम गर्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका तर्फबाट यसपटक जंगबहादुर लामा उम्मेदवार बन्नुभएको छ । यसअघि ०५६ र ०७० मा निर्वाचित सांसद मोहनबहादुर बस्नेत तथा ०७४ मा निर्वाचित पूर्वसभामुख अग्निप्रसाद सापकोटाको कार्यकालमा नाका व्यवस्थापनमा दीर्घकालीन समाधान नआएको भन्दै स्थानीय व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । बाह्रबिसे–तातोपानी सडकखण्डको २६ किलोमिटर दूरीमा बारम्बार बाढी, पहिरो, सडक भासिने र पुल बग्ने घटनाले व्यापारिक गतिविधिमा गम्भीर असर पार्दै आएको छ । रसुवागढी नाका समेत बाढीले क्षतिग्रस्त भएपछि चीनसँग जोडिने वैकल्पिक नाका लामो समय अवरुद्ध हुन पुगेको थियो । तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेका अनुसार कोदारी नजिकको पहिरो क्षेत्रमा अस्थायी व्यवस्थामार्फत यस वर्ष व्यापारिक गतिविधि सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा पहिरो नियन्त्रण र सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको भए पनि बाह्रबिसे–तातोपानी सडकका अधिकांश भाग अझै जीर्ण अवस्थामा छन् ।

बाढीले पक्की पुल बगाएपछि अस्थायी रूपमा राखिएका बेलिब्रिजहरूको भारवहन क्षमता कमजोर हुँदा ठुला कन्टेनरहरूको आवतजावत प्रभावित भइरहेको व्यवसायीहरू बताउँछन् । माग गरिएका सामान सिजन सकिँदासम्म नआउने समस्या दोहोरिँदै आएको उनीहरूको गुनासो छ । दूरीका हिसाबले छोटो भए पनि सडक अवरोधका कारण तातोपानी नाका समयमै सामान आयात–निर्यात हुने नाकाका रूपमा स्थापित हुन सकेको छैन । यद्यपि, गत आर्थिक वर्षमा यो नाकाबाट २१ अर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । २०७२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द रहेको तातोपानी नाका २०७६ सालदेखि पुनः सञ्चालनमा आएको हो । तर हरेक वर्ष बाढी–पहिरो, चीनतर्फको नीतिगत अनिश्चितता र नेपालको कमजोर पूर्वाधारका कारण नाका अझै पूर्ण रूपमा भरपर्दो बन्न सकेको छैन ।

विशेषज्ञहरूका अनुसार तातोपानी नाकालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउन दिगो पूर्वाधार निर्माण, सडकको स्तरोन्नति, पक्की पुल निर्माण र अन्तरदेशीय समन्वयलाई प्राथमिकतामा राख्न आवश्यक छ । निर्वाचनमा उम्मेद्वारहरूले जनाएका प्रतिबद्धता व्यवहारमा उतारिन सके तातोपानी नाका फेरि पनि नेपाल–चीन व्यापारको प्रमुख ढोका बन्ने अपेक्षा स्थानीयवासी र व्यवसायीहरूले गरेका छन् ।