नवलपरासी समाचारदाता
कावासोती, माघ २२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासीपूर्वबाट उम्मेदवारी दिएका राजनीतिक दल र स्वतन्त्र गरी ३३ जना उम्मेदवार अहिले गाउँमा मतदातासँग भोट माग्न थालेका छन् । मध्यविन्दु नगरपालिका–५ का ज्ञानप्रसाद पराजुलीले भन्नुभयो, “जितेपछि के गर्ने भन्ने स्थानीका खास योजना कुनै दलका उम्मेदवारले पनि प्रस्तुत गर्न सकेका छैनन् तर पनि भेटघाट र चुवानी अभियान चलिरहेका छन् ।”
देवचुली नगरपालिका–६, कीर्तिपुरकी रिमकुमारी थापामगरले भन्नुभयो, “चुनाव त आयो तर भोट माग्ने र जितेर गर्ने काम सस्तो नारामा मात्रै सीमित राख्ने उम्मेदवारहरू गाउँ गाउँ छिरेर मतदाताको विश्वास जित्न अनेक नाटक गरेको देख्न र सुन्न पाइएको छ ।
पहाडी भूभाग भएको दुई गाउँपालिका बौदीकाली र बुलिङटारमा भोट माग्न पुगेका उम्मेदवारहरूले आफूले जितेमा विकासको मूल फुटाउन आश्वासन दिन थालेको कुरा बौदीकाली गाउँपालिका–३ का डिल्ली रानामगरले बताउनुभयो । पहाडी क्षेत्रमा विकासका धेरै काम भएका छन् तर स्थानीय बासिन्दा गाउँ नै छाडेर तराई झर्न थालेको बताउँदै पहाडी क्षेत्रमा यस पटक धेरै भोट खस्न नसक्ने बुलिङटार गाउँपालिकाका पूर्वअध्यक्ष शशिकिरण बस्ताकोटी बताउनुहुन्छ ।
हुप्सेकोट गाउँपालिकाका भीमनारायण रेग्मीले भन्नुभयो, “सधैँको चुनावमा विकासका मुद्दा बाटो, पुल, खानेपानी, स्वास्थ्य, शिक्षालाई नै हरेक उम्मेदवारले उठाउँछन् तर जित्नेले जितेर जान्छन् अनि पाँच वर्ष आउँदैन र हार्नेले झनै वास्ता गर्दैनन् ।” गैँडाकोट नगरपालिका–३, गडम्दीका भूपाल आलेमगरले विकाससँग मात्र भोट साट्नुपर्ने बताउनुभयो । अब जित्ने उम्मेदवारले जिल्लाको विकासमा ध्यान दिनैपर्ने नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरे बताउनुहुन्छ ।
स्थानीयका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस, एमाले, रास्वपा र नेकपाको प्रतिस्पर्धा हुने देखिएको छ भने क्षेत्र नं २ मा पनि बहुपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नं २ मा एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले यो पटक एमालेले नै जित्ने दाबी गर्नुभयो ।
कांग्रेसका ओमबहादुर घर्तीले कांग्रेसको उम्मेदवारले यस पटक पनि जित हासिल गर्नेमा ढुक्क रहेको बताउनुभयो । क्षेत्र नं १ मा नेकपाबाट लोकप्रसाद भुर्तेल र क्षेत्र नं २ मा गणेशमान महत्तो, राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नं १ मा राजन गौतम र क्षेत्र नं २ बाट मनिष खनालको उम्मेदवारी परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, मङ्गोल नेसनल अर्गनाइजेनलगायतका दलले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले बताउनुभयो ।