• २२ माघ २०८२, बिहिबार

नरेठाँटी स्वास्थ्य चौकी गण्डकीकै उत्कृष्ट

blog

गलकोट नगरपालिका वडा नम्बर २ मा रहेको नरेठाँटी स्वास्थ्य चौकी । तस्बिर: नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ २२ गते ।
न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनमा ९८ प्रतिशत अङ्क प्राप्त गरेर गण्डकीकै उत्कृष्ट स्वास्थ्य चौकी भएको हो । नरेठाँटी स्वास्थ्य चौकीमा न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त मूल्याङ्कनमा नरेठाँटी स्वास्थ्य चौकीले विभिन्न स्वास्थ्य सूचकहरूको आधारमा ९८ प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको छ ।

गत वर्ष पनि नरेठाँटी स्वास्थ्य चौकीले गण्डकी प्रदेशमै ९६ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो । यस वर्ष हालसम्म सम्पन्न भएका मूल्याङ्कनहरूमा पनि ९८ प्रतिशत अङ्कसहित नरेठाँटी स्वास्थ्य चौकी प्रदेशकै पहिलो स्थानमा रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर जिसीले नरेठाँटी स्वास्थ्य चौकीले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि निरन्तर रूपमा उच्च अङ्क प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सधैँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई यो उपलब्धिलाई निरन्तरता दिँदै अझै प्रभावकारी सेवा प्रवाहमा लाग्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा गलकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख शिव खड्का, स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा, नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख जीवन नेपाली, व्यवस्थापन समितिका   पदाधिकारीहरू, स्वास्थ्यकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको बारेमा क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी गराउनुभएको थियो ।